नेपाल ओमानसँग १३ रनले पराजित

भक्तपुर, जेठ २७
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।
टस जितेर पहिले व्याटिङ गरेको ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली ४९.४ बलमा १९८ रनमा अलआउट भएको थियो । नेपालका लागि आरिफ शेखले ७९ बलमा ६ चौका सहित सर्वाधिक ६६ रनको योगदान दिए । आरिफको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो ।


त्यस्तै देव खनालले ३४ तथा रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले ८ रन जोडे । ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट हुँदा सुशन भारी शुन्य रनमा अविजित रहे ।
रोहितले १७ बलमा ३ चौका प्रहार गरे । देवले ५३ बलमा ५ चौका प्रहार गरे । दीपेन्द्रले ३० बलमा एक चौका प्रहार गरे ।
ओमानका कप्तान जिशान मकसुदले शतकसँगै बलिङमा १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । खवर अलीले ८ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । अयान खानले ९ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । बिलाल खानले ८.४ ओभरमा एक मेडनसहित ३४ रन खर्चेर २ विकेट लिए ।
ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोड्ने क्रममा जिसन मक्सुदले अविजित १०४ रनको पारी खेले । मुक्सदले १ सय २६ बलमा १२ चौकासहित १०४ रनको शतकीय इनिङ खेल्दै प्रतिस्पर्धात्मक योगफल निर्माण गरेका थिए । ओमानले एकातर्फबाट लगातार विकेट गुमाएपनि कप्तान मक्सुदले जिम्मेवारीका साथ अन्तिमसम्म क्रिजमा डटि रहे । मक्सुदको ओडिआई करिअरको दोस्रो शतक हो ।


त्यस्तै खवर अलिले ३० रन जोड्दा सोयब खानले २७ रन बनाए । सुरज कुमार १२ रनमा आउट भए ।
नेपालका करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । उनी ओडिआईमा पाँच विकेट लिने सोमपाल कामी र सन्दीप लामिछानेपछि तेस्रो खेलाडी हुन् । करण नेपालबाट ओडिआई र टि२० आई दुबैमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् ।
सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।
हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्नेछ ।