उपत्यकाको चाँगुनारायण नगरपालिकामै छैन सार्वजनिक यातायात, समाधानका लागि नगरप्रमुखको पहल

भक्तपुर, जेठ २३
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कुनै कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल आउनुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल आउनु परेको हो ।
यस्तै चाँगुनारायण नगरपालिका–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनु पर्ने बाध्यता छ । काठमाण्डौं उपत्यकामा रहेको र राजधानीसँग जोडिएको नगरपालिका भएपनि चाँगुनारायण नगरपालिकाका वडा नं. ३ र ५ मा सार्वजनिक यातायात सञ्चालन नहुँदा यहाँका नागरिकले दैनिक सास्ती भोग्दै आएका छन । उनीहरुलाई जरुरी कामको लागि पनि घण्टौं पैदल हिँड्नु पर्ने बाध्यता रहेको छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा कोही बिरामी परे अस्पताल लैजान समेत महँगो भाडा तिरेर सवारी साधन रिजर्भ गर्नुपर्ने बाध्यता समेत रहेको छ ।
सार्वजनिक सवारी साधन नहुँदा विद्यार्थीलाई समयमा कक्षा भ्याउन हम्मे हम्मे पर्ने तथा आफ्नो बारीमा उत्पादन भएका तरकारी एवं बाली बजारसम्म लैजान किसानलाई हम्मे हम्मे पर्ने गरेको छ ।
केहि समय अघिसम्म छालिङमा सार्वजनिक यातायात सञ्चालन भएको भएता पनि हाल बन्द हुँदा नजिकका आफन्तहरुले समेत हेलाँ गर्ने गरेको छालिङका स्थानीय गोकर्ण पुरीले बताउनुभयो । विकासको क्षेत्रमा छलाङ मारेपनि झौखेलमा सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारणले ठूलो समस्या भोग्नु परेको स्थानीय गोविन्द थापाले बताउनुभयो ।
यसैबीच राजधानीबाट नजिक तथा भक्तपुर नगरसँग जोडिएको स्थान भएपनि यातायात सेवा नहुँदा झौखेल र छालिङवासीले सास्ती खेप्नु परेको गुनासो बढेपछि नगर प्रमुख जीवन खत्रीले समस्या समाधानको पहल गर्नुभएको छ । चाँगुनारायणका हरेक क्षेत्रमा सार्वजनिक यातायातको पहुँच बिस्तारका लागि नगर प्रमुख खत्री जुट्नु भएको हो ।
यातायातको समस्याले दुःख खेप्दै आएका चाँगुनारायण नगरबासीकोे समस्या समाधानकालागि नगर प्रमुख खत्रीले ख्वप भक्तपुर मिनिवस यातायात समितिका पदाधिकारीहरुसँग छलफल गर्दै चाँगुनारायणमा सार्वजनिक यातायातको बिस्तार र पहुँच बृद्धिको लागि पहलकदमी शुरु गर्नुभएको हो ।
“चाँगुनारायण नगर त भयो तर अहिले पनि अधिकांश स्थान ग्रामिण परिवेश भन्दा फरक छैन,” नगर प्रमुख खत्रीले भन्नुभयो, “जहाँ यातायातको सेवा नहुँदा काठमाण्डौंबाट नजिक भएपनि धेरै टाढाको दुर दराजको गाउँ जस्तो महशुस हुने गरेको छ ।”
उहाँले चाँगुनारायणको वडा नम्वर १ देखि ९ सम्म सञ्चालन भइरहेका सार्वजनिक यातायातलाई थप व्यस्थित गर्न र नियमित समय तालिका निर्माण गरी सञ्चालन गर्न यातायात व्यवसायीसँग सहकार्य गर्न नगरपालिका तयार रहेको समेत बताउनुभयो ।
छलफलका क्रममा ख्वप भक्तपुर मिनिवस यातायात समितिका पदाधिकारीहरुले झौखेल र छालिङमा एक महिनाभित्र यातायात सञ्चालन गर्ने प्रतिवद्धता जनाउँदैं नगरका सडकको सुधार गर्नुपर्ने, विगतमा यातायात सञ्चालन गर्दा अनेक समस्या आएकाले त्यस्ता समस्या फेरी दोहोरिन नदिन नगरपालिकाले सहयोग गर्नुपर्ने माग राखेका थिए ।