नाडाललाई किर्तिमानी १४ औं पटक फ्रेन्च ओपनको उपाधी

भक्तपुर, जेठ २३
विश्व वरियतामा पाँचौं स्थानमा रहेका स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार भएको फाइनलमा आठौं वरीयताका आफ्नै चेला क्यास्पर रुडलाई ३–० को सोझो सेटमा पराजित गर्दै नाडालले किर्तिमानी १४ औं पटक उपाधि जितेका हुन् ।
क्ले कोर्टका राजा नाडालले नर्वेजियन रुडलाई ६–३, ६–३ र ६–० को सोझो सेटमा पराजित गरे । २३ वर्षीय रुडले २०१८ देखि स्पेनको मलोर्कामा रहेको नाडालको एकेडेमीमा प्रशिक्षण गर्दै आइरहेका छन् ।
नाडाल यसअघि फ्रेन्च ओपनमा २००५, २००६, २००७, २००८, २०१०, २०११, २०१२, २०१३, २०१४, २०१७, २०१८, २०१९ र २०२० मा च्याम्पियन बनेको थियो । ३६ वर्षीय नाडालको यो कीर्तिमानी २२ औं पटक ग्रान्डस्लाम टेनिसको उपाधि हो । नाडालले १४ फ्रेन्च ओपन, चार युएस ओपन र समान दुई विम्वल्डन र अष्ट्रेलियन ओपन जितेका छन् ।यस्तै उनी सर्वाधिक ग्रान्डस्लाम जित्ने एक्लो खेलाडी बनेका छन् । स्वीस रोजर फेडेरर र सर्वियन नोभाक जोकोभिचले समान २० ग्रान्डस्लाम जितेका छन् । यस्तै ३६ वर्षीय नाडाल फ्रेन्च ओपन जित्ने पहिलो पाका खेलाडी बनेका छन् । यस सन् १९३० मा अमेरिकाका बिल टिल्डेन ३७ वर्षको उमेरमा फाइनल प्रवेश गरेपनि उपाधि जित्न सकेको थिएन ।
यसैगरी महिलातर्फको उपाधी विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छिन् । पेरिसमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै पोल्याण्डकी इगाले उपाधि जितेकी हुन् । इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन् ।