युक्रेनलाई हराउँदैं वेल्स विश्वकपमा छनोट

भक्तपुर, जेठ २३
वेल्स यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । यूईएफए छनोट अन्तर्गत आइतबार राति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १–० गोल अन्तरले हराउँदै वेल्सले विश्वकपको टिकट काटेको हो ।
कार्डिफ सिटी स्टेडियममा वेल्सलाई जित दिलाउन आत्मघाती गोल निर्णायक बन्यो । खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले आत्मघाती गोल नै वेल्सको जितको कारण बनेको हो । ग्यारेथ बेलको फ्रिकिकलाई बचाउने क्रममा यार्मोलेन्कोले आफ्नै पोस्टमा गोल गर्न पुगेको थिए ।


खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि युक्रेनले वेल्सको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । युद्धग्रस्त अवस्थाबाट अघिल्लो साता प्लेअफको सेमिफाइनलमा स्कटल्याण्डलाई ३–१ ले पराजित गरेर प्ले अफको फाइनलमा पुगेको युक्रेनले फाइनलमा त्यही नतिजा दोहो¥याउन नसक्दा विश्वकपमा दोस्रोपटक छनोट हुन सकेन ।
वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुन सफल भएको हो । सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो । त्यसयता वेल्स विश्वकपको छनोट नजिक पुगेपछि छनोट हुन सकेको थिएन । तर, यसपटक वेल्सले त्यो छविलाई मेटाएको छ । अब वेल्स इंग्ल्याण्ड, अमेरिका र इरान रहेको समूह बी मा सामेल भएको छ ।