विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

भक्तपुर, जेठ २२
विश्व वातावरण दिवसको अवसरमा आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं २२ गण र जिल्ला प्रहरी परिसरमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय भक्तपुरको सहयोग र सशस्त्र प्रहरी बल नेपाल नं २२ गणको संयोजनमा गरिएको वृक्षारोपणमा विभिन्न प्रजातिका फलफूल तथा विरुवाहरू गरी ३५० भन्दा बढी विरुवा रोपिएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मानव जातिको अस्तित्व नै पृथ्वी र वातावरणको संरक्षणमा निर्भर रहेको बताउँदैं मानवको व्यवहार, आचरण, क्रियाकलाप वातावरण मैत्री हुनुपर्ने र दैनिक जीवनमा प्रयोग गर्ने उपकरणहरु समेत वातावरण अनुकूल हुनु पर्नेमा जोड दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोटका गणपति सशस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले खाली जग्गाको सदुपयोग पनि हुने र हरियालीको संरक्षण पनि गर्ने उद्देश्यले वृक्षारोपण गरिएको बताउनुभयो ।