जग्गा प्रकरणमा फसाईएको भन्दै पक्राउ परेका कार्यकर्ता छाड्न राप्रपाको माग

भक्तपुर, जेठ २०
राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार ठगी गरेको आरोपमा पक्राउ परेका आप्mना कार्यकर्ता निर्दोष भएको दावी गर्दै तत्काल रिहा गर्न माग गरेका छन । राप्रपा भक्तपुरले आज (शुक्रवार) पत्रकार सम्मेलन गर्दै पिडित भनिएका राई समूहले बदनियतपूर्वक जग्गा कारोवार गर्ने आप्mना कार्यकर्तालाई फसाएको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौंको प्रहरी टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ साविक सुडाल गाविस वडा नम्बर ४ क कित्ता नं. ३९९ को सरकारी जग्गा र अन्य व्यक्तिको नाममा रहेको जग्गा समेत जग्गाधनीको अनुमति विना बिक्रिका लागि बैना वापत करारनामा गरी ५ करोड २० लाख रुपैंया ठगी गरेको आरोपमा चाँगुनारायण नगरपालिका–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको गत जेठ १३ गते पक्राउ गरकेो थियो ।
पक्राउ परेका मध्ये अधिकारी राप्रपाको जिल्ला कोषाध्यक्ष हुन । सो घटनामा आरोपी अन्य ४ जना हाल फरार छन । फरार मध्ये राप्रपाका नेता एवम् चाँगुनारायण नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ समेत छन । उनीहरु विरुद्ध खोटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बस्ने धनीराम राई समेतले जाहेरी दिएका थिए ।
स्रोतका अनुसार सरकारी भनिएको साविक सुडाल वडा नम्बर ४ क कित्ता नं. ३९९ को जग्गा २०७८ पुस २३ गते अघिसम्म व्यक्तिको नीजि थियो । नगरपालिकाले सडक फराकिलो बनाएसँगै उक्त कित्ता जग्गा सबै बाटोमा पर्ने भएपछि जग्गाधनी कृष्ण बहादुर ढुकछुको निवेदनले उक्त जगाालाई सरकारी जग्गामा परिणत गरेको थियो ।
प्राप्त जानकारी अनुसार खोटाङका धनिराम राई र रुपसुन्दर चामलिङसमेतको समूहले अधिकारी समूहसँग उक्त कित्ता नं. ३९९ सहित अन्य जग्गाहरु समेत खरिदका लागि २०७७ चैत ३० गते ६ महिनाभित्र राजीनामा पास गरी लिने शर्तमा बैना गरेको थियो । तर राई समूहले तोकिएको समयमा जग्गा पास गरी लिन सकेन । राई समूहले अधिकारी समूहलाई दिएको चेक समेत बाउन्स भएको छ ।
त्यसपछि अधिकारी समूहले उक्त जग्गा अन्य व्यवसायीलाई बिक्री गरे । नयाँ व्यवसायीले धमाधम प्लटिङ गर्न थालेपछि राई समूहले पनि हिस्सा माग गरे । राई समूहले बैना गर्दा व्यक्तिको नाममा रहेको कित्ता नं. ३९९ को सबै जग्गा बाटोमा पर्ने भएपछि नयाँ व्यवसायीको अनुरोधमा जग्गा धनी स्वयम्ले २०७८ पुस २३ गते मालपोत कार्यालय उक्त जग्गा नेपाल सरकारको नाममा नामसारी गरिदिए ।
उता राई समूह र अधिकारी समूहको विवाद बढ्दै गयो । राई समूहले आफुहरुले बैना गरेको जग्गा अधिकारी समूहले अर्कै समूहलाई बिक्रि गरेको भन्दै उक्त जग्गाको प्लानिङमा आधा हिस्सा पाउनुपर्ने माग गरी अदालतमा मुद्दा समेत दायर गरेको खुल्न आएको छ । अदालतबाट राई समूहले ३ करोडको मात्र हिस्सा पाउने भएपछि प्रहरीमा ठगीको उजुरी दिएर निदोर्षलाई फसाईएको राप्रपाले दावी गरे ।
पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री एवम् भक्तपुरका नेता रबिन्द्रप्रताप शाहले आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रुपमा फसाईएको दावी गर्दै पहुँच र शक्तिको आडमा प्रहरी प्रशासनका उच्च अधिकारीहरुलाई समेत गुमराहमा पारी जाहेरी दिएर पक्राउ गरिएको बताउनुभयो । उहाँले चुनाव सकिए पछि राप्रपाको जनलहर देखेर आत्तिएकाहरुले राप्रपा बिरुद्ध षडयन्त्र गर्दै सुनियोजित रुपमा फसाएको आरोप समेत लगाउनुभयो ।
राप्रपाका जिल्ला अध्यक्ष रामशरण लामिछानेले जग्गा लेनदेनसम्बन्धी जाहेरीवाला धनिराम राईसमेत र पक्राउ परेका अधिकारीको बीचमा भएको सम्झौता अनुसार छ महिनाको भाखा राखेर २०७७ चैत ३० गते उक्त जग्गा खरिद बिक्रीको लागि बैनापट्टा गरिए पनि २०७८ पुस ३० गतेको अबस्थालाई जोडेर मुद्धा दर्ता गरि राप्रपाका नेता कार्यकर्ता पक्राउ गर्नु वदनियतपूर्ण भएको आरोप लगाउनुभयो ।

तीन वर्ष अघि जग्गा बैना गर्दा दिएको चेक समेत बाउन्स भएपनि अधिकारी समूहले प्रहरीमा उजुरी नगरी सहमतिमै समस्या सुल्झाउन खोज्दा उल्दै राईको समूहले अधिकारीलाई झूटो उजुरी दिएर पक्राउ गर्न लगाएको अध्यक्ष लामिछानेको दावी छ । उहाँले तत्काल पक्राउ परेका अधिकारी र गाईजूलाई रिहा गरि सत्य तथ्य छानबिन गर्न माग समेत गर्नुभयो ।