सन्दीप बलिङमा चम्केपनि नेपाल पराजित

भक्तपुर, जेठ २०
अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । नेपाली कप्तान सन्दिप लामिछाने बलिङमा चम्के पनि व्याटिङमा कमजोर हुँदा नेपाली टोली पहिलो अभ्यास खेलमा पराजित भएको हो ।
अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली अल स्टार्सलाई जित दिलाउन आइपिएल च्याम्पियन खेलाडी विपुल शर्मा नायक बने । उनले ५१ बलमा ४ चौका र २ छक्कासहित महत्वपूर्ण ५० रनको योगदान दिए । विपुल २०१६ मा सनराइजर्स हैदराबादले आइपिएल जित्दाका खेलाडी हुन् । स्टार्सका लागि गौरभ बजाज ५८ बलमा २ चौकासहित ४० रनमा अविजित रहे ।
एक समय १९ ओभरमा ९६–५ को कमजोर अवस्थामा पुगेको अल स्टार्सलाई जिताउन छैटौं विकेटका लागि विपुल र गौरभले ८३ रनको निर्णायक साझेदारी गरेका थिए । स्टार्सलाई ओपनर एन्ड्रिज गौस र उदय कौलले ८.४ ओभरमा ५५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५.५ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो । नेपालका आरिफ शेखले ७४ बलमा ५ चौकासहित ६० रन बनाए । उनी अविजित रहे ।
खराव शुरुवात गरेको नेपालका लागि पाँचौं विकेटका लागि आरिफ र विनोद भण्डारीले ४७ रनको साझेदारी गरेका थिए । ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद इलायसको पहिलो ओभरको पहिलो बलमै विकेटकिपर एन्ड्रिज गौसबाट आउट भए । आसिफ तेस्रो ओभरको तेस्रो बलमा चोटका कारण १ रनमा रिटायर्ट हुन पुगे । उपकप्तान रोहित पौडेलले २३ बलमा २ चौकासहित १६ रन बनाए । बेन्चमा रहेका सुनिल धमला आदिल भाटीको बलमा ४ रनमा एलबीडब्लू आउट भए । देव खनाल स्पिनर हम्रित सिंहको १९ औं ओभरको तेस्रो बलमा एज लागेर फस्ट स्लिपमा उदय कौलबाट समातिन पुगेपछि नेपाल समस्यामा परेको थियो । देवले सुस्त ब्याटिङ गर्दै ५६ बलमा १ चौका सहित २० रन जोडे । करणले १७ बलमा २ छक्का र १ चौकासहित कुल २१ रन जोडे ।
स्टार्सका लागि स्पिनर मार्टिन कैनले ६ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद इलायसले ८ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । आदिल भाटीले ७ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । विपुल शर्मा र हरम्रित सिंहले १–१ विकेट लिए । वसन्त रेग्मीले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चे ।
नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि अमेरिका पुगेको हो । नेपालले दोस्रो अभ्यास खेल शनिबार ह्युस्टन हरिकेन्ससँग खेल्नेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सिरिजको शुरुवात गर्नेछ ।