मेसीको उत्कृष्ट प्रदर्शनसँगैं अर्जेन्टिना बने फाइनलिसिमा च्याम्पियन

भक्तपुर, जेठ १९
कप्तान लियोन मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीविरुद्ध ३–० को सहज जित निकाल्दै फाइनलिसिमा च्याम्पियन बनेको छ ।
इंग्ल्यान्डको वेम्बली रंगशालामा बुधवार राती सम्पन्न खेलमा अर्जेन्टिनालाई च्याम्पियन बनाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।
खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । लिओनेल मेस्सीको कटब्याक पासमा मार्टिनेजले ६ यार्ड बक्सभित्र अनमार्क रहेको अवस्थामा सहजै गोल गरे ।
पहिलो हाफको इन्ज्युरी समयमा डी मारियाले अग्रता दोब्बर पारे । दोस्रो हाफको इन्ज्युरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए । मेस्सीले अगाडी बढाएको बललाई डिबालाले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्दै गोल गरेका थिए ।


फाइनलिसिमाको तेस्रो संस्करणमा अर्जेन्टिना दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् १९९३ मा भएको फाइनलिसिमाको दोस्रो संस्करणमा अर्जेन्टिनाले डेनमार्कलाई पराजित गर्दै उपाधी जितेको थियो । त्यसबेला डिएगो म्याराडोना सम्मिलित टोलीले डेनमार्कलाई पेनाल्टीमा पराजित गरेको थियो । त्यसअघि सन् १९८५ मा सम्पन्न पहिलो संस्करणमा फ्रान्सले उरुग्वेलाई पराजित गरेको थियो ।
युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) र दक्षिण अमेरिकी कन्मेबलबीच डिसेम्बर २०२१ मा भएको सम्झौता अनुसार खेल भएको हो । फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउन खेल आयोजना भएको हो ।