बुद्ध र आकारको जोडीलाई स्वर्ण

काठमाण्डौं, जेठ १८
बुद्ध राई र आकार थापाको जोडीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा बुधबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा विकेश अधिकारी र गोपाल पौडेलको जोडी दोश्रो तथा अमिता श्रेष्ठ र प्रिता मल्लको जोडी तेश्रो भए ।
फरक क्षमता भएका व्यक्तिहरुको लागि नेपाल बोसिया संघको व्यवस्थापनमा राखेपद्वारा आयोजित प्रतियोगिताको बीसी ४ को मिक्स टिम स्पर्धामा विष्णु घिमिरे, सुवेच्छा खतिवडा र निलम अधिकारी पहिलो, सुकुमाया लो, सविन तामाङ र जिज्ञासा अधिकारी दोश्रो तथा सीता ढकाल, सुरुजन रावत र विशाल श्रेष्ठ तेश्रो भए । बीसी ३ को मिक्समा आश्मा सिग्देल र रिदम क्षेत्रीले स्वर्ण, मर्यम नकर्मी र आयुष्मा अधिकारीले रजत तथा लिजा वज्राचार्य र सुभला राईले कांस्य जिते ।


बीसी २ को मिक्स टिममा रुपेश लामिछाने, रोशनी खत्री र अशोक बस्नेत पहिलो, प्रताप बराल, सुमन पालिखे र गंगामाया कसलवत दोश्रो तथा सुलोचना, दीपा सुलु र मानबहादुर भुजेल तेश्रो भए । सिंगल मिक्स स्पर्धामा मौसम चौधरी पहिलो र लक्ष्मी मगर दोश्रो बने ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, फरक क्षमता भएका व्यक्तिहरुको लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ५२ प्रतिस्पर्धी सहभागी थिए ।