निशान र चन्द्रमालाई स्वर्ण

काठमाण्डौं, जेठ १७
निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ मंगलबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो भएका हुन् भने चन्द्रमाले महिला १ सय मिटर दौडमा शीर्ष स्थान हात पारिन् ।
पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ देवराज घिमिरे दोश्रो तथा मानबहादुर श्रेष्ठ तेश्रो भए । महिला १ सय मिटर दौडमा सिर्जना सेन्चुरी दोश्रो तथा छोरीमाया थापा तेश्रो बने ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको तत्वावधानमा सञ्चालित प्रतियोगिताको बहिरा क्षेत्रतर्फ महिला २ सय मिटर दौडमा जयन्ती विष्टले स्वर्ण, पूजा बास्तोलाले रजत र हीरामाया घलेले कांस्य जिते । सो स्पर्धाको पुरुषमा अजय कर्ण, सौगात पोखरेल र उर्गेन गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहे ।
पुरुष ४ सय मिटर दौडमा पनि अजयले स्वर्ण जिते । उर्गेन दोश्रो तथा अनिश खड्का तेश्रो बने । उक्त स्पर्धाको महिलामा हीरामायाले पहिलो स्थान हात पार्दै व्यक्तिगत दोहोरो स्वर्ण चुमिन् । विनिता थापा दोश्रो तथा सविता देउला तेश्रो भए ।


ह्विलचेयरको पुरुष १ सय मिटर दौडमा विराट भट्ट प्रथम, रिले तामाङ द्वितीय र होमनाथ राई तृतीय भए । सो स्पर्धाको महिलामा नरकुमारी कार्की पहिलो, कुमारी मगर दोश्रो र इश्वरी न्यौपाने तेश्रो भए । ह्विलचेयरकै पुरुष ज्याभ्लिन थ्रोमा श्यामबहादुर रावलले स्वर्ण, रिले तामाङ दोश्रो तथा गिरीराज थापा तेश्रो भए । त्यसै स्पर्धाको महिलामा विमला खनाल पहिलो, कुमारी मगर दोश्रो र मनमाया भण्डारी तेश्रो भए ।
आंशिक दृष्टिविहीनको पुरुष २ सय मिटर दौडमा दयाराम नारायण चौधरी पहिलो, हेम थापा दोश्रो र विपिन ओस्ती तेश्रो बने । सो स्पर्धाको महिलामा सरिता घिमिरे पहिलो, कृष्ण ढुंगाना दोश्रो र रचना पराजुली तेश्रो भए ।
पूर्ण दृष्टिविहीनको पुरुष २ सय मिटर दौडमा सन्तोष साउद पहिलो, रत्नबहादुर राई दोश्रो तथा सौगात वगाले तेश्रो भए । उक्त स्पर्धाको महिलामा सुनिता नेपालीले स्वर्ण, संगिता घलेले रजत र रोजनी थापा मगरले कांस्य जिते ।


विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
हरेक स्पर्धाका विजेतालाई १ हजार, दोश्रोलाई ७ सय र तेश्रोलाई ५ सय नगद पुरस्कार प्रदान गरियो । एकदिने प्रतियोगितामा ७४ खेलाडी सहभागी थिए । विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदअन्तर्गत पारा एथलेटिक्ससहित ११ खेल सम्पन्न भइसकेको छ ।