सूर्यविनायक नगर कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी

भक्तपुर, जेठ १८
सूर्यविनायक नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । नगर कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन ।
सूर्यविनायक नगरपालिकामा कुल ५१ मत रहेको छ । जस मध्ये एमालेका उम्मेदवारहरु महिलातर्फ कमला पोखरल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, साबित्री मिश्र र दलित तथा अल्पसंख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, सुनिल भुजेल ३३÷३३ मत प्राप्त गर्दै विजयी भएका हुन । कांग्रेसका उम्मेदवारहरुले १८÷१८ मत प्राप्त गरे ।
नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई निर्वाचत अधिकृत सरिता कुमारी खतिवडाले प्रमाणपत्र प्रदान गर्नुभयो भने नगर प्रमुख वासुदेव थापाले शपथ ग्रहण गराउनु भएको थियो ।
सो अवसरमा नगर प्रमुख थापाले कार्यपालिकामा एमालेको बहुमत भएपनि नेपाली कांग्रेसका निर्वाचित जनप्रतिनिधि र आम नगरबासी बुद्धिजिवी तथा नागरिकको सरसल्लाहमा सहमति र सहकार्यका साथ नगरपालिका सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।