भक्तपुर नगर कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

भक्तपुर, जेठ १७
भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडासदस्यहरु मध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएको हो ।
नेपालको संविधानको धारा २१६ को उपधारा ४ बमोजिम भक्तपुर नगरपालिकाको नगर कार्यपालिका सदस्यमा वडा नं. ३ का सुनिता अवाल (प्रजापति), वडा नं. ५ का कृष्णप्यारी भुजू, वडा नं. ६ का रोशनमैंया सुवाल, वडा नं. ७ का रञ्जना त्वाती र वडा नं. ९ का छोरीमैंया सुजखु प्रजापति निर्विरोध निर्वाचित हुनुभएको हो ।
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लिन स्विप गरेको थियो । विपक्षी दलका कोही पनि सदस्य नगरसभामा निर्वाचित हुन नसकेकाले नगर कार्यपालिका सदस्यमा पनि नेमकिपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन ।
यसैबीच नवनिर्वाचित नगर कार्यपालिका सदस्यहरुले आजै शपथ ग्रहण गरेका छन । सो अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिदैं कार्यपालिकाले पूर्णता पाएसँगै छिट्टै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढंगले काम गर्ने बताउनुभयो ।
नगरपालिकाले सस्तो लोकप्रियताको लागि नभई भक्तपुर नगर र नगरबासीहरुको सन्तुलित विकास र आर्थिक जीवनस्तर उकास्ने ढंगले काम गर्दै आइरहेको बताउँदैं उहाँले जनतासँग एकाकर भई काम गर्न सके जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख रजनी जोशीले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता एक एक गरी पूरा गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दै आगामी कार्यकाल अझ सफल र उपलब्धीमूलक हुने ढंगले काम अगाडि बढाउने बताउनुभयो ।