ठगीको आरोप लागेपछि चाँगुनारायण–७ का वडाअध्यक्ष फरार

भक्तपुर, जेठ १७
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडाअध्यक्ष फरार भएका छन । भक्तपुरको सुडालको सरकारी जग्गा र विभिन्न व्यक्तिहरुको नाममा रहेको नीजि जग्गा समेत जग्गाधनीको अनुमति विना बिक्रिका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाअध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका हुन । प्रहरीले उनको खोजी कार्य जारी रहेको बताएको छ ।
काठमाण्डौं उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाण्डौंले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षका ईश्वर गाइजुलाई सरकारी जग्गा र व्यक्तिको नीजि जग्गा अनुमति विना बैना रकम लिई ठगी गरेको अभियोगमा शुक्रवार पक्राउ गरी थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो ।
सोही घटनामा थप अनुसन्धान गर्ने क्रममा चाँगुनारायण नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष नायजु श्रेष्ठसहित थप ४ जनाको संलग्न देखिएको र उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
“वडाअध्यक्ष सहित अन्य ६ जनाको नाममा पक्राउ पूर्जी जारी भएको थियो । ६ जना मध्ये केशव अधिकारी र ईश्वर पक्राउ परी अनुसन्धानको क्रममा थुनामा रहेका छन् भने अन्य चार जना फरार रहेका छन,” एसपी श्रेष्ठले भन्नुभयो ।
वडाअध्यक्ष नायजु श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । यसअघि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले जितेको यस वडामा वडा सदस्यहरु चारै जना कांग्रेसका उम्मेदवार विजयी भएका छन ।
वडाअध्यक्ष नायजु श्रेष्ठ र पक्राउ परेका अधिकारी र गाईजुसहितको टोलीले चाँगुनारायण नगरपालिका वडा नं. ८ साविक सुडाल गाविस वडा नम्बर ४ क कित्ता नं. ३९९ को सरकारी जग्गा र अन्य व्यक्तिको नाममा रहेको जग्गा समेत जग्गाधनीको अनुमति विना बिक्रिका लागि बैना वापत करारनामा गरी ५ करोड २० लाख रुपैंया ठगी गरेको भनी खोटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बस्ने धनीराम राई समेतले जाहेरी दिएका थिए ।