मध्यपुर थिमि नगर कार्यपालिकामा लोकतान्त्रिक बाम गठबन्धन विजयी

भक्तपुर, जेठ १७
मध्यपुर थिमि नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन विजयी भएको छ । नगर कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै मध्यपुर थिमिमा लोकतान्त्रिक बाम गठबन्धन विजयी भएको हो ।
मध्यपुर थिमि नगरपालिकामा कुल ४६ मत थियो जस मध्ये ४२ मत खसेकोमा एक मत बदर भएको सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार मध्यपुर थिमि नगर कार्यपालिका सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु महिला सदस्यमा नेपाली कांग्रेसका उजला थापा श्रेष्ठ, तुईलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी हुनु भएको छ । उहाँहरु सबैले २८÷२८ मत प्राप्त गर्नुभएको सिलवालले बताउनुभयो ।
त्यसैगरी दलित तथा अल्पसंख्यकतर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका जसे सार्की र सरोज परियार तथा नेकपा माओवादी केन्द्रका बालकृष्ण परियार विजयी हुनुभएको छ । उहाँहरुले पनि २८÷२८ मत प्राप्त गर्नुभएको सिलवालले जानकारी दिनुभयो । निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले १३÷१३ मत प्राप्त गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टीले निर्वाचनमा सहभागिता जनाएनन् ।