विपद् व्यवस्थापन कार्ययोजना बनाउन नगर प्रमुखको निर्देशन

भक्तपुर, जेठ १६
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिनुभएको छ । चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाले सोमवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वर्षा याम सुरू भएसँगै हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि नगर प्रमुख खत्रीले नगरस्तरीय विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिनुभएको हो ।
उहाँले चाँगुनारायण नगरपालिकामा विभिन्न प्राकृतिक प्रकोपको जोखिम रहेकाले विपद्बाट हुने क्षति कम गर्न र विपद् प्रभावितको तत्काल उद्दार र राहत पुग्ने कार्यक्रम समावेश गरी कार्ययोजना बनाउनु पर्नेमा जोड दिनुभयो ।
विभिन्न महामारी जन्य रोगहरू र प्राकृतिक प्रकोपहरूको रोकथाम नियन्त्रणका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया तथा आरआरटी स्वास्थ्यकर्मी परिचालन कार्यक्रममा नगर प्रमुख खत्रीले चाँगुनारायणवासीलाई स्वस्थ बनाउनका लागि स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्यका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै नगरपालिकाबाट प्रदान गरिने कामहरूलाई जनमैत्री बनाइने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले नगरपालिकाले महामारी नियन्त्रणका लागि काम गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा थप योजना बनाएर काम गर्ने जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनीधि, स्वास्थ्यकर्मीलगायतको सहभागीता रहेको थियो ।