तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

भक्तपुर, जेठ १६
तारा एयरको ९ एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोङका लागि आइतवार बिहान ९ बजेर ५५ जाँदा उडेको उक्त विमान १० बजेर ७ मिनेटदेखि सम्पर्क विहिन भएको थियो ।
विमान हराएपछि आइतवार दिनभर खोजी गर्दा पनि विमान भेटिएको थिएन । सोमवार बिहानै विमानको खोजीमा निस्किएको नेपाली सेनाको टोलीले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो । विमान ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको छ ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको तस्वीरमा विमान पहाडमा बज्रिएर टुक्राटुक्रा भएको देखिन्छ । प्रवक्ता सिलवालका अनुसार सेनाको खोजी तथा उद्धार टोली घटनास्थलमा परिचालन भइसकेको छ । प्रतिकूल मौसम र कठिन भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । विमानमा सवार यात्रुहरुको अवस्थाबारे विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ ।
उक्त विमानमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको तारा एयर जनाएको छ । जसमा धनुषाको मिथिला नगरपालिका ११ लोटागाउँका एकै परिवारका ७ जना रहेका छन् । यस्तै गोरखाको शहीद लखन गाउँपालिका–५ को तिनपानेका ४ जना एकै परिवारका रहेका छन् ।
विमानलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एयरले जनाएको छ ।