आइपिएल डेब्यु टोली गुजरातले जित्यो उपाधी

भक्तपुर, जेठ १६
यसवर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधी गुजरात टाइटन्सले जितेको छ । कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा आइपिएल डेब्यु टोली गुजरात टाइटन्सले आइतवार राती सम्पन्न फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै उपाधी जितेको हो ।
नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सम्पन्न फाइनलमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाउँदै जित निकालेको थियो ।
गुजरातलाई उपाधी दिलाउ कप्तान हार्दिकले ३० बलमा ३ चौका र १ छक्कासहित ३४ रन बनाउनुका साथै ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । शुभमन गिलले ४३ बलमा ३ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे । फिनिसर डेविड मिलर १९ बलमा ३ चौका र १ छक्का सहित ३२ रनमा अविजित रहे ।
ओपनर ऋद्धिमान शाह ५ र तेस्रो नम्बरका म्याथ्यु वेड ८ रनमा आउट भए । तर तेस्रो विकेटका लागि गिल र हार्दिकले ५३ बलमा ६३ रनको साझेदारी गर्दै जितको आधार बनाए । स्पिनर युजभेन्द्र चहलले हार्दिकलाई स्लिपमा यशस्वी जैसवालबाट क्याच गराउँदै पर्पल क्याप पक्का गराए । राजस्थानका प्रसिद्ध कृष्ण, ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १–१ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाए । राजस्थानलाई ओपनर यशस्वी जैसवाल र जस बटलरले पहिलो विकेटका लागि ४ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । जैसवाल यश दयालको बलमा डीप स्क्वायर लेगमा साई किशोरबाट क्याच हुनुअघि १६ बलमा १ चौका र २ छक्कासहित २२ रन बनाए ।

राजस्थानका कप्तान सञ्जु स्यामसन एज लागेर थर्डम्यानमा किशोरबाट १४ रनमै आउट भए । राशिद खानको १२ औं ओभरको पाँचौं बलमा देवदत्त पाडिक्कल १० बल खेल्दै दुई रनमा आउट भए ।
हार्दिकको १३ औं ओभरको पहिलो बलमा जस बटलर आउट साइड एज लागेर ऋद्धिमान शाहबाट क्याच भएपछि राजस्थान समस्यामा परेको थियो । शिम्रन हेटमायर ११, रविचन्द्रन आश्विन ६ र ट्रेन्ट बोल्ट ११ रनमा आउट भए । रियान पराग १५ रनमा आउट भए ।
गुजरातका लागि स्पिनर रविश्रिनिवास साइ किशोरले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, राशिद खान र यश दयालले १–१ विकेट लिए । गुजरात शीर्षस्थानमा रहँदै क्वालिफायर खेलेको थियो । क्वालिफायरमा राजस्थानलाई नै ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।