मध्यपुर थिमिको प्रमुखमा कांग्रेसका सुरेन्द्र, उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण निर्वाचित

भक्तपुर, जेठ ४
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । गठबन्धनले मध्यपुर थिमिमा नगरप्रमुख, उपप्रमुख, ६ वटा वडासहित बहुमत सदस्य जित हार पारे भने २ वटा वडाअध्यक्ष नेकपा एमाले र एकमा नेपाल मजदुर किसान पार्टी विजयी भए ।
मध्यपुर थिमिमा प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्नै ज्वाइँ एवम् निवर्तमान प्रमुख नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गरेको छ । गठबन्धनकातर्फबाट उम्मेदवार बनेका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरे भने उहाँका निकटम प्रतिद्धन्द्धी मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गर्नुभयो ।
२०७४ मा मदनसुन्दरले नेपाली कांग्रेसका अष्ट कवेलाई पराजित गर्दै प्रमुखमा निर्वाचित हुनुभएको थियो । सो बेला नेमकिपासँग तालमेल गरेको मदनसुन्दरले १४ हजार मत पाएका थिए । यसपटक एक्लै चुनावी मैदानमा उत्रेको एमालेले मध्यपुर थिमिमा प्रमुख गुमाउन पुग्यो ।
उपप्रमुखमा पनि गठबन्धनका विजयकृष्ण श्रेष्ठ निर्वाचित हुनुभयो । नेकपा माओवादी केन्द्रका श्रेष्ठले १२ हजार १०२ मत ल्याई विजयी हुँदा उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी उत्तरा नेपालले ८ हजार ८६३ मत पाउनुभयो ।
मध्यपुर थिमिको नगरसभामा गठबन्धनले करिव दुई तिहाई सिट जितेको छ । मध्यपुर थिमिको ४७ सदस्यीय नगरसभामा गठबन्धनले २९ सिट जितेको छ भने नेकपा एमालेले १३ र नेमकिपाले ४ सिट जितेको छ ।
नेपाली कांग्रेसले नगरप्रमुख, ६ वडाअध्यक्ष र १८ जना नगरसभा सदस्यसहित महुमत सिट जितेको छ । कांग्रेसले वडा नं. १ मा वडाअध्यक्षसहित ४, वडा नं. २ मा वडाअध्यक्षसहित २, वडा नं. ३ मा वडाअध्यक्षसहित ४, वडा नं. ४ मा एक सदस्य, वडा नं. ५ मा वडाअध्यक्षसहित ३, वडा नं. ६ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी वडा नं. ७ मा दुई सदस्य, ८ मा एक सदस्य जितेको कांग्रेसले वडा नं. ९ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।
नेकपा माओवदी केन्द्रले उपप्रमुखसहित वडा नं. ६ मा एक र वडा नं. ९ मा एक सदस्य जितेको छ भने नेकपा एमालेले वडा नं. १ मा एक सदस्य, २ मा तीन सदस्य, वडा नं. ३ मा एक सदस्य, वडा नं. ४ मा वडाअध्यक्षसहित ४, वडा नं. ५ मा दुई सदस्य, वडा नं. ७ मा वडाअध्यक्षसहित ३ सदस्य जितेको छ । त्यसैगरी नेमकिपाले वडा नं. ८ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।