एउटा वडाको मत गणना अगावै मध्यपुर थिमिमा सुरेन्द्र र विजयकृष्णको जित पक्का

भक्तपुर, जेठ ३
नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा जित पक्का भएको छ । मध्यपुर थिमिको ९ वटा वडा मध्ये ९ नंम्बर वडाको मतगणना अघि नै श्रेष्ठको जित पक्का भएको हो ।
वडा नं. ९ मा कुल २७३७ मत खसेको छ । नौ वटा वडा भएको यस नगरपालिमा सुरेन्द्रले वडा नं. ८ को मत गणना सकिँदासम्म १३ हजार ७५६ मत ल्याई सकेको छ भने उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले १० हजार ३०८ मत प्राप्त गरेका छन । उहाँहरु बीचको मतान्तर ३४४८ रहेको छ । यस हिसावले गन्न बाँकी वडा नं. ९ को सबै मत मदनसुन्दरलाई जाँदा पनि सुरेन्द्रको जित पक्का भएको हो ।
त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठको जित पक्का भएको छ । उहाँले पनि वडा नं. ९ को मतगणना अगावै जित पक्का गरेको हो । वडा नं. ८ को मत गणना सकिँदा विजयको मत ११ हजार ३९१ रहेको छ भने उहाँका निकटम प्रतिष्पर्धी नेकपा एमालेकी उत्तरा नेपालको मत ८ हजार २१८ रहेको छ । उहाँहरु बीचको मतान्तर ३१७३ रहेको छ ।
मध्यपुर थिमिमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको हो । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमाले र नेमकिपाले गठबन्धन गरेको थियो । सोही गठबन्धनका कारण मध्यपुर थिमिमा एमालेका मदनसुन्दर श्रेष्ठ १४ हजार मतका साथ प्रमुखमा निर्वाचित हुनुभएको थियो । यस पटक नेमकिपा एक्लै चुनावी मैदानमा रहेको छ ।