मध्यपुर थिमिमा नेमकिपाले खाता खोल्यो, वडा नं. ८ मा थापा श्रेष्ठ विजयी

भक्तपुर, जेठ ३
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा पनि खाता खोलेको छ । भक्तपुर नगरपालिकामा क्लिन स्विप गरेको नेमकिपाले मध्यपुर थिमिमा भने वडा नं. ८ मा पुगेर खाता खोलेको हो ।
मध्यपुर थिमि ८ को वडा अध्यक्षमा नेमकिपाका रमेश थापा श्रेष्ठ विजयी हुनुभयो । उहाँले एक हजार २२६ मत पाउनुभयो भने उहाँको निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलकृष्ण प्रजापतिले एक हजार ४५ मत पाउनुभयो । थापा श्रेष्ठ यसअघि २०७४ को निर्वाचनमा वडा नं. ८ बाटै वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । पराजित प्रजापति २०७४ को निर्वाचनमा पनि नेमकिपाका देवकृष्ण मोय् श्रेष्ठसँग पराजित भएका थिए ।
वडा सदस्यमा भने मिश्रित नतिजा आएको छ । महिला वडा सदस्यमा नेपाली कांग्रेसका उज्वला थापा श्रेष्ठ निर्वाचित हुँदा बाँकी सबै सदस्य नेमकिपाका विजयी भए । जसअनुसार दलित महिला सदस्यमा मनिसा परियार १०१७, खुल्ला सदस्यमा विजयप्रकाश साहुखल ९२८ र सुरेन्द्र था श्रेष्ठ ९७७ मतले निर्वाचित भयो ।