मध्यपुर थिमि ७ मा नेकपा एमालेका प्रजापति विजयी, प्रमुखको श्रेष्ठको अग्रता कायम

भक्तपुर, जेठ ३
मध्यपुर थिमि वडा नं. ७ को वडा अध्यक्षमा नेकपा एमालेका कृष्णकुमार प्रजापति निर्वाचित भएको छ । वडा नं. ७ को अन्तिम मत परिणाम अनुसार प्रजापति नेपाली कांग्रेसका दिनेश घजुलाई ३२ मतले पछि पार्दै वडाअध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रजापतिले १ हजार २६६ र घजुले १ हजार २३४ मत प्राप्त गरेको निर्वाचन अधिकृत मैंयाँ कँडेलले जानकारी दिनुभयो ।
प्रजापति यसअघि पनि वडाअध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०७४ मा एमालेको बागी उम्मेदवारको रुपमा स्वतन्त्रबाट वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसबेला पनि प्रजापतिले घजुलाई नै पराजित गरेको थियो ।
वडा सदस्यमा मिश्रित परिणाम आएको छ । चार वडा सदस्यहरु मध्ये दुई जना नेपाली कांग्रेस र दुई जना नेकपा एमालेका विजयी भए । वडाको महिला सदस्यमा नेपाली कांग्रेसका सुजाता बाडे १ हजार १६१ र दलित महिला सदस्यमा कांग्रेसका शर्मिला विश्वकर्मा १ हजार १८१ मत ल्याएर निर्वाचित हुनुभयो भने खुल्ला दुई सदस्यमा नेकपा एमालेका भक्तराज खत्री १०५० र योगेन्द्र कुमार दुवाल १०७८ मतका साथ निर्वाचित हुनुभयो ।
यसैगरी मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले फराकिलो अग्रता लिएको छ । वडा नं. ७ सम्मको मत गणनामा सुरेन्द्रले १२ हजार ७१८ मतका अग्रता लिनुभएको छ । उहाँले निवर्तमान प्रमुख समेत रहनुभएका नेकपा एमालेका मदनसुन्दरु श्रेष्ठले ९ हजार १०८ मतका साथ पछ्याई रहनुभएको छ । उहाँहरु बीचको मतान्तर ३ हजार ६१० रहेको छ । अब वडा नं. ८ को ३ हजार ३ र वडा नं. ९ को २ हजार ७४७ मत मात्र गन्न बाँकी रहेको छ ।
त्यस्तै उपप्रमुखमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले आप्mनो अग्रतालाई कायम राख्नुभएको छ । उहाँले १० हजार ५१२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिष्पर्धी नेकपा एमालेकी उत्तरा नेपालले ७ हजार ५८२ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर २ हजार ९३० रहेको छ ।