मध्यपुर थिमिमा लगभग हारको नजिक पुग्यो – एमाले नेता बस्नेत

भक्तपुर, जेठ ३
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले मध्यपुर थिमिमा हारको नजिक पुगेको बताउनुभएको छ । उहाँले भक्तपुरका नगरपालिकाहरुको पछिल्लो मत परिणामका बारेको आप्mनो धारणा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै मध्यपुर थिमिमा प्रमुख र उपप्रमुखको मत घटेसँगै हारको नजिक पुगेको बताउनुभएको हो ।
“एमाले बिरुद्ध सबै दलहरु गठबन्धन बनाएर लागेको बेलामा पनि हामी भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उदेश्यले लागेका थियौं । टिकट बितरण प्रक्रियामा देखिएका असन्तुष्टि मिलाउन नसक्दा, जनतामा हाम्रा बारेमा फिजाइएका भ्रमहरुलाई समयमा चिर्न नसक्दा, निर्वाचित जन प्रतिनिधिहरुको बारेमा गरिएका कु–प्रचार तोड्न नसक्दा, हामीप्रति जनताको अपार समर्थनलाई संगठित रूपमा पार्टीकरण गर्न नसक्दा, इतिहासमै नभएको बिकास र गतिबिधि गर्दा पनि मध्यपुर थिमि नगरपालिकामा जित्ने वार्ड नं.१, २ र ५ वडामा अध्यक्ष पराजित भएका छन र मिश्रित परिणाम आएको छ,” उहाँले फेसबुकमा लेख्नुभएको छ, “प्रमुख र उप प्रमुखमा हाम्रो मत घटेको छ । लगभग हारको नजिक पुगिएको छ ।”
उहाँले सूर्यविनायक नगरपालिकामा पनि विगतमा कांग्रेसले जितेको वडाहरु यो पटक एमालेले जित्ने आशा गरिएको तर नसकिएको उल्लेख गरेका छन । “योपटक हामीले जित्ने आशा गरेको वार्ड नं २ र ३ झिनो मतले जित्न सकिएन,” उहाँले लेख्नुभएको छ । उहाँले अघिल्लो पल्ट जितेको वडा नं. ४ दधिकोटमा थोरै मतले पराजित भएर मिश्रित परिणाम आएको उल्लेख गर्दै लेख्नुभएको छ, “अब मत गन्न बाँकी ५, ६, ७, ८, ९ र १० सबै वडाहरू र मेयर उपमेयर राम्रैसँग जितिने सम्भावना रहेको छ ।”
चाँगुनारायण नगरपालिकामा पनि विगतमा कांग्रेसले जितेको १ र २ नं वडा जित्ने लक्ष्यमा झिनो मतले पराजित भएको र पहिला जितेको वार्ड नं ६ मा पराजित भएको उल्लेख गर्दै मेयर उपमेयर जित्ने आशा व्यक्त गर्नुभएको छ ।
“अब मेयर र उपमेयरको अग्रता बढेको छ । बाँकी वडाहरू ७, ८ र ९ को परिणाम राम्रो आउने र मेयर उपमेयर जित्ने सम्भावना छँदैछ”, उहाँले लेख्नुभएको छ, “जे होस् यो परिणाममार्फत जनताले दिएको आदेश स्वीकार गरेर हामीभित्र जान अन्जानमा भएका भएका कमजोरी हटाएर अझ सशक्त ढंगले अगाडि बढ्दै जनताको सेवामा आउनेछौँ ।”