मध्यपुर थिमि ३ मा कांग्रेस विजयी, नगरप्रमुखमा कांग्रेसका श्रेष्ठ अग्रता बढाउँदैं

भक्तपुर, जेठ १
मध्यपुर थिमि नगरपालिका वडा नं. ३ मा पनि नेपाली कांग्रेस विजयी भएको छ । बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार वडा नं. ३ मा कांग्रेसका कृष्णहरी आचार्य अत्याधिक बहुमतका साथ निर्वाचित हुनुभएको छ ।
कुल ३ हजार ५६८ मत खसेको यस वडामा आचार्यले २ हजार २५२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका होमनाथ ढुंगेलले ८५० मत प्राप्त गर्नुभयो ।
यस्तै वडा सदस्यहरुमा कांग्रेसका गणेशराम कुटु १६३१, महिला सदस्यमा कांग्रेसकी विनु केसी १७५६, दलित महिला सदस्यमा कांग्रेसकी निर्मला परियार १३५१ मत सहित निर्वाचित हुनुभयो भने एक सदस्यमा नेकपा एमालेका रविन्द्रनाथ न्यौपाने ११३३ मतले निर्वाचित हुनुभयो ।
यसअघि कांग्रेसले १ र २ वडामा पनि विजय हासिल गरिसकेको छ । मध्यपुर थिमि–१ को वडाअध्यक्षमा काँग्रेसका बाबुकाजी डंगोल र २ वडामा श्रीकृष्ण श्रेष्ठ विजयी भइसकेका छन् । अहिले नगरको वडा नं. ४को मतगणना शुरू भएको छ ।
यसैबीच मध्यपुर थिमि नगर प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले अग्रता बढाएका छन् । नगरको तीन वडाको मतगणना सकिँदा श्रेष्ठले ४८११ मत र उनका निकटम प्रतिद्धन्द्धी एमालेका मदन सुन्दर श्रेष्ठले ३०९० मत ल्याउनुभएको छ ।
यस्तै उप प्रमुखमा एमालेकी उत्तरा नेपालले ३५६९ मत ल्याउनुभएको छ भने माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले २८९१ मत पाउनुभएको छ । मध्यपुर थिमिमा कुल खसेको ३१ हजार ४५३ मत मध्ये हालसम्म तीन वटा वडाको ९ हजार १६८ मत गणना भएको छ ।