एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको प्यानल विजयी

भक्तपुर, जेठ २
नेकपा एमाले अध्यक्ष के पी शर्मा ओलीको गृह वडा सूर्यविनायक नगरपालिका वडा २ बालकोटमा प्यानलै नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन । गएराती सम्पन्न सूर्यविनायक २ को मतगणनाको अन्तिम मत परिणाम अनुसार वडा अध्यक्षमा नेपाली कांग्रेसका प्रदिप कार्की १ हजार ५११ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका विश्वराज बिष्टले १ हजार ३०५ मत प्राप्त गर्नुभयो ।
वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी हुनुभयो । प्राप्त मत परिणाम अनुसार महिला वडा सदस्यमा कल्पना खतिवडा १ हजार ५२१, दलित महिला सदस्यमा रञ्जिता त्रिखत्री १ हजार ५१७, खुल्ला सदस्यमा जनार्दन खड्का १ हजार ४७६ र भगत रानाभाट १ हजार ४२४ मतका साथ विजयी हुनुभयो ।
यस वडामा २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका कमलनाथ आचार्य झिनो मतले वडाअध्यक्षमा विजयी हुनुभएको थियो ।
यसैगरी सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । यहाँ कांग्रेसका निशान ढुंगेलले ३ हजार १३१ मतका साथ अग्रता कायम राखेको हो । नेकपा एमालेका बासुदेव थापाले २ हजार ७६० मतका साथ ढुंगेललाई पछ्याई रहनुभएको छ ।
उपप्रमुखमा भने नेकपा एमालेकी सरिता भट्टराई ले अग्रता लिनुभएको छ । उहाँले २ हजार ८२३ मत पाउँदा नेकपा एकिकृत समाजवादीका श्यामसुन्दर बस्नेतले १ हजार ९४८ मत पाउनुभएको छ ।