भक्तपुरमा ७६ प्रतिशत मतदान

भक्तपुर, बैशाख ३०
स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत आज सम्पन्न निर्वाचनमा भक्तपुरमा ७६ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा भक्तपुरमा जम्मा ७६ प्रतिशत मात्र मतदान भएको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकामा ७६ प्रतिशत, सुर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा ७५ प्रतिशत र चाँगुनारायण नगरपालिकामा ७७ प्रतिशत मतदान भएको जानकारी दिनुभयो । अधिकृत बास्तोलाले शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भएपनि सोचेको जस्तो परिणाम नआएको बताउनुभयो ।


भक्तपुरको चाँगुनारायण नगरपालिकामा १६ हजार २२३ पुरुष र १७ हजार ६५ महिला गरी कुल ३३ हजार २८८ मत खसेको निर्वाचन कार्यालयका सूचना अधिकारी भिम बहादुर जिसीले जानकारी दिनुभयो ।
त्यस्तै भक्तपुर नगरपालिकामा २१ हजार ४३५ पुरुष र २१ हजार ९३९ महिला गरी कुल ४३ हजार ३७४ मत खसेको छ । मध्यपुर थिमिमा १५ हजार ८०५ पुरुष, १५ हजार ६०३ महिला र तेस्रो लिङ्गी २ गरी कुल ३१ हजार ४१० मत खसेको जिसीले बताउनुभयो । सूर्यविनायक नगरपालिकामा १७ हजार २७७ पुरुष र १८ हजार १७४ गरी कुल ४७ हजार ३६५ मत खसेको छ ।


भक्तपुरमा ७७ मतदान स्थल र २१९ वटा मतदान केन्द्र छन । भक्तपुर नपामा १६ मतदान स्थल ६२ मतदान केन्द्र, चाँगुनारायणमा २१ मतदान स्थल, ५३ मतदान केन्द्र, सूर्यविनायकमा २३ मतदान स्थल, ५८ मतदान केन्द्र र मध्यपुर थिमिमा १७ मतदान स्थल, ४६ मतदान केन्द्र निर्धारण गरेको छ ।
जिल्लामा जम्मा एक लाख ८९ हजार ५८४ मतदाता संख्या रहेका छन । जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरपालिकामा ४३ हजार १०४, सुर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरपालिकामा ४१ हजार ८४३ जना रहेका छन ।