गठबन्धन मुलुकको आवश्यकता – सभापति थापा

भक्तपुर, बैशाख १९
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले अहिलेको सत्ता गठबन्धनलाई मुलुकको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि १ वडा समितिले आइतवार आयोजित कार्यक्रममासभापति थापाले अहिलेको गठबन्धन कसैको रहर वा बाध्यता नभएको बताउँदैं मुलुकको आवश्यकता जन्माएको बताउनुभएको हो ।
“यो गठबन्धन हाम्रो रहर पनि होइन, बाध्यता पनि होइन । यो गठबन्धन मुलुकको आवश्यकता हो, लोकतन्त्र र लोकतान्त्रिक संघिय गणतान्त्रिक संविधानको रक्षाको लागि हो,” उहाँले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यो गठबन्धनको आवश्यकता रहयो । मुलुकलाई समृद्ध बनाउन यो गठबन्धनको आवश्यक रहयो । त्यसैले हामी गठबन्धनमा छौं ।” उहाँले एमालेको अधिनायकवाद समाप्त गर्नको लागि पनि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
उहाँले हिजोका प्रतिष्पर्धीसँग पनि आज सँगै हिँड्नुपर्छ भन्ने कांग्रेसको लोकतान्त्रिक विषेशता, मूल्य मान्यता र संस्कारका कारण आज माओवादी केन्द्रसँग एउटै मञ्चमा उभिएर एकले अर्कालाई मत मागिरहेको चर्चा गर्नुभयो ।
उहाँले देशमा एउटा सन्की राजा हुँदैं गर्दा देशमा राजतन्त्रको समाप्त भएको र एउटा सन्की नेता सत्तामा बस्दै गर्दा लोकतन्त्र समाप्त हुने दिशातर्फ मुलुक गएको बताउँदैं एउटा सन्की मध्यपुरको मेयर हुँदैं गर्दा मध्यपुर तहसनहस हुँदै गएकाले पनि गठबन्धन आवश्यक रहेको दावी गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले ५ वर्षमा मध्यपुर थिमिमा विकासले गति लिन नसकेको र मध्यपुर थिमिको वडा नं. १, २ र ३ मा नगरपालिकाले कुनै उल्लेखनीय कार्य गर्न नसकेको बताउनुभयो ।
गठबन्धनकातर्फबाट नगरप्रमुखका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले आफु निर्वाचित भए मध्यपुर थिमिमा असल सुशासनको प्रत्याभुति दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षा स्वास्थ्य आप्mनो प्राथमिकता रहेको बताउँदैं विकास बजेटलाई नगरका सबै वडामा समानुपातिकरुपमा वितरण गरेर नगरको समग्र क्षेत्रको विकासका लागि सदैव तल्लिन रहने वाचा गर्नुभयो ।
उपप्रमुखका उम्मेदवार विजयकृष्ण श्रेष्ठले वितेका पाँच वर्षमा निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरमा वेथिति र विसंगती बढाएको आरोप लगाउँदैं नगरपालिकालाई आप्mनो एकल हुकुमी शैलीमा सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण विभागका सदस्य सुरेन्द्र के सी, मध्यपुर थिमि वडा नं. १ का उम्मेदवार बाबुकाजी डंगोल, नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. १ का सभापति विजयकृष्ण खड्का, उपसभापति दिलकृष्ण प्रजापति र सचिव सरेश बस्नेतलगायतले कांग्रेसभित्रका केही असमझदारीलाई हटाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।