भक्तपुर नगरपालिकामा ३ प्रमुखसहित १२ जनाको उम्मेदवारी दर्ता

भक्तपुर, बैशाख ११
भक्तपुर नगरपालिकामा आइतवार १२ जनाले विभिन्न पदका लागि मनोनयन पत्र दर्ता गरेका छन । मूख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजदास विडारीका अनुसार भक्तपुर नगरपालिकाको प्रमुखमा ३, उपप्रमुखमा १ र वडाअध्यक्षमा ८ जनाले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन ।
प्रमुखमा उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरुमा दुई जना राजनीतिक दलका र एक जना स्वतन्त्र छन । भक्तपुर नगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दर्ता गर्नेहरुमा नेपाः राष्ट्रिय पार्टीका गोपाल दास प्रजापति, मौलिक जरोकिलो पार्टीका कृष्णराम प्रजापति र स्वतन्त्र सत्य राम त्वायना छन । त्वायनाले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको देको मिबा इतापाके जग्गा एकीकरण आयोजनाका पिडितहरुको संघर्ष समितिका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन ।
त्यसैगरी उपप्रमुखमा मौलिक जरोकिलो पार्टीका सुष्मा कोजुले उम्म्ेदवारी दिएका छन भने सोही दलबाट वडा नं. १, ३, ५, ६, ७ र १० वडामा गरी ६ जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेको विडारीले जानकारी दिनुभयो ।
त्यस्तै देको मिबा इतापाके जग्गा एकीकरण आयोजनाका पिडितहरुको संघर्ष समितिकै तर्फबाट वडा नं. २ को वडा अध्यक्षमा सन्च ज्ञान याकामी र वडा नं. ६ को वडाअध्यक्षमा राम प्रसाद कुम्पाखले उम्मेदवारी दर्ता गराएको छ ।