भक्तपुर नगरपालिका प्रमुखमा जग्गा एकिकरण पिडितको उम्मेदवारी

भक्तपुर, बैशाख ११
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको देको मिबा इतापाके जग्गा एकीकरण आयोजनाका पिडितहरुको संघर्ष समितिका तर्फबाट भक्तपुर नगरपालिकाको प्रमुख पदका लागि आज उम्मेदवार मनोनयन पत्र दर्ता गरेको छ । संघर्ष समितिकातर्फबाट सत्य राम त्वायनाले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गरेको हो ।
संघर्ष समितिकै तर्फबाट वडा नं. २ को वडा अध्यक्षमा सन्च ज्ञान याकामी र वडा नं. ६ को वडाअध्यक्षमा राम प्रसाद कुम्पाखले उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्ता गर्न पिडितहरु धिमे बाजासहित सानो ब्यासीमा जम्मा भई पुरानो बासु मा बि, ठुलो ब्यासी, बालाखु गणेश हुँदै भक्तपुर नगरपालिकाको मूख्य निर्वाचन अधिकृतको कार्यालय दरवार स्क्वायर पुगेका थिए ।
यसैगरी मध्यपुर थिमिमा पनि आइतवार दिउँसोसम्म एक जना स्वतन्त्र उम्मेदवारले नगरसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । वडा नं. ५ का समाजसेवी एवम् नेपाल स्काउट, सिद्धिकाली मन्दिरको संरक्षण तथा परिसरको विकासलगायत विभिन्न सामाजिक कार्यमा क्रियाशिल दिलकृष्ण प्रजापतिले नगरसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन ।