स्थानीय निर्वाचनका लागि आजदेखी उम्मेदवार मनोनयन दर्ता शुरु

भक्तपुर, बैशाख ११
स्थानीय तह निर्वाचनका लागि देशका ७ सय ५३ वटै पालिकामा आजदेखी उम्मेदवारको मनोनयन दर्ता शुरु हुँदैंछ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ ।
सम्बन्धित पालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमार्फत् बिहान १० बजेदेखि ५ बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । यसअघिका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताको समय एक दिनमात्रै रहने गरेको थियो ।
तर मनोनयन पत्र दर्ता गर्दा उम्मेदवार र निर्वाचन कार्यालय दुबैलाई चाप धेरै पर्न गएको अनुभवका आधारमा यसपटक दुई दिन उम्मेदवारी दर्ताको समय राखिएको सहसचिव एवंम निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
भोलीसम्म बेलुका मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।
यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
यसैबीच भक्तपुरमा भक्तपुर नगरपालिकाको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय दरवार स्क्वायरमा उम्मेदवारले मनोनयन दर्ता गर्न सकिने व्यवस्था गरेको छ । त्यसका लागिे भक्तपुर नगरपालिकाको जनज्योति पुस्तकालयको पुरानो भवन दरवार स्क्वायरमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
यसैगरी मध्यपुर थिमि नगरपालिकाको लागि कृषि विकास बैंकको तालिम केन्द्र बोडे, सूर्यविनायक नगरपालिकाको लागि राष्ट्रिय प्राणी उद्यान सूर्यविनायक, चाँगुनारायण नगरपालिकाको लागि नेपाल विद्युत प्राधिकरण केन्द्र खरिपाटीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।