उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म दलहरुलाई उम्मेदवार टुंगो लगाउन सकस

भक्तपुर, बैशाख १०
स्थानीय निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म भक्तपुरका राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाउन सकेको छैन । निर्वाचन आयोगले यही बैशाख ११ र १२ गते स्थानीय निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने मिति तोकिएपनि भक्तपुरका दलहरुले शनिवार साँझसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
जिल्लाका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकिकृत समाजवादीले गठबन्धनको खाका तयार नभएका कारण उम्मेदवार टुंगो लगाउन सकेका छैन भने नेकपा एमालेले पनि आकांक्षी व्यवस्थापन गर्न नसक्दा अझै उम्मेदवार टुंगो लगाउन नसकेको हो । यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि शनिवार साँझसम्म उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।
सत्ता गठबन्धनबीच चुनावी तालमेलका विषयमा सहमति नभएपनि दलहरुले उम्मेदवार छनोटको आन्तरिक तयारीलाई तिव्रता दिएको छ । नेपाली कांग्रेसले जिल्लाका चार वटै नगरपालिकाका प्रमुख र उपप्रमुखका आकांक्षीहरुबीच छलफल गराउनुका साथै जिल्ला उपसभापति विजेश अवालको नेतृत्वमा एक समिति गठन गरी आकांक्षीहरुको बारेमा अध्ययन प्रतिवेदन तयार गरी जिल्ला सभापतिलाई बुझाएको छ । सो प्रतिवेदनलाई शनिवार नै प्रदेश कार्यसमितिमा पठाएको जिल्ला सभापति दुर्लभ थापाले बताउनुभयो ।
तयसैगरी वडा अध्यक्ष र सदस्यहरुको टिकट वितरण गर्ने जिम्मेवारी पाएको कांग्रेस क्षेत्रीय समितिहरुले संसदिय समिति गठन गरेपनि उम्मेदवार टुंगो लगाउने प्रक्रिया शुरु गर्न सकेको छैन । शनिवार दिनभर विभिन्न गुटहरु आन्तरिक छलफलमा जुटे पनि संसदिय समितिको भनै बैठक बस्न नसकेको स्रोतले जानकारी दिए ।
गठबन्धनको जिल्ला संयन्त्रमा भएको छलफल, कांग्रेसको अवस्था, अन्य दलहरुको अवस्था र उनीहरुको मागका बारेमा कांग्रेस जिल्ला कार्यसमितिले बागमति प्रदेश समितिको सुझाव र निर्देशन माग गरी पठाएपनि प्रदेशले कुनै निर्देशन नदिएका कारण जिल्लामा टिकट वितरणको प्रक्रिया शुरु हुन नसकेको स्रोतले बताए ।
गठबन्धनमा सहमति हुन ढिलाई भएपछि सत्ता साझेदार दलहरुले भने धमाधम उम्मेदवार सिफारिस गर्न थालेको छ । नेकपा माओवादी केन्द्रले मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा विजय श्रेष्ठ र उपप्रमुखमा जगत माया प्रजापति (आशा)लाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । त्यसैगरी उसले मध्यपुर थिमि वडा नं. ३ को वडा अध्यक्ष नरेश रञ्जितलाई सर्वसम्मत सिफारिस गरेको छ भने वडा नं. ५ मा जगतमान श्रेष्ठलाई वडाअध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको छ ।
त्यसैगरी नेकपा एकिकृत समाजवादीले पनि गठबन्धन अलमलिएको भन्दै जिल्लाका चार स्थानीय तहका ३८ वटै वडामा उम्मेदवार तयार गरेको जनाएको छ । जिल्ला अध्यक्ष श्याम बस्नेतले केही दिन अघि पत्रकार सम्मेलन गर्दै ३८ वटै वडामा उम्मेदवार तयार रहेको दावी गरेको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा पार्टीका केन्द्रिय सदस्य एबम भक्तपुर जिल्ला सह इन्चार्ज भवानी खडका, जिल्ला उपाध्यक्ष प्रेमानन्द लाल श्रेष्ठ, दुर्गामोहन श्रेष्ठ, पुन्यरत्न रन्जित र उपप्रमुखमा नवीन प्रकाश श्रेष्ठ, रितु चित्रकार, सुसिला श्रेष्ठ सिफारिस गरिएको जानकारी दिनुभयो ।
त्यस्तै भक्तपुर नगरपालिकाको प्रमुखमा रिता अवाल, ओम चरण अमात्य र उपप्रमुखमा डा राजेन्द्र कोजुलाई सिफारिस गरिएको छ । सुर्यविनायक नगरपालिकाको प्रमुखमा पार्टीका जिल्ला अध्यक्ष श्याम बस्नेत, प्रदेश कमिटी सदस्य अर्जुन बस्नेत र मधुकर थापा तथा उपप्रमुखमा दिलिप केसी र शोभा श्रेष्ठ सिफारिस गरिएको छ ।
चाँगुनारायण नगरपालिकाको प्रमुखमा राम प्रसाद न्योपाने र उपप्रमुखमा शान्ति खडका र अन्जना पोखरेललाई सिफारिस गरिएको छ ।
त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि मध्यपुर थिमि नगरपालिकाको प्रमुखका लागि कृष्णबहादुर घजुलाई सिफारिस गरेको छ ।