सूर्यविनायकमा नेपाली कांग्रेसले एकै दिन खोले ६१ कार्यालय

भक्तपुर, बैशाख ९
भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र नेपाली कांग्रेसले शुक्रवार एकै साथ ६१ वटा कार्यालय स्थापना गरेको छ । नगर समितिको आयोजनामा नगरभित्र गठन गरिएका ६१ वटा टोल कमिटीका कार्यालयहरु एकै साथ स्थापना गरेको हो ।
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका प्रवक्ता रमेश खड्का अनुसार वडा नं. १ मा ९ वटा, २ मा ६ वटा, ३ मा ६ वटा, ४ मा ६ वटा र ५ मा १० वटा टोल कमिटी गठन भएको र ती सबै टोल कमिटीको कार्यालय स्थापना गरिएको छ ।
त्यसैगरी वडा नं. ६ मा २ वटा, ७ मा ७ वटा, ८ मा ६ वटा, ९ मा ३ वटा र १० मा ७ वटा कार्यालय स्थापना गरिएको प्रवक्ता खड्काले बताउनुभयो । उहाँले नेपालमै पहिलो पटक कांग्रेसको ६१ वटा कार्यालय एकै साथ खुलेको यो पहिलो भएको दावी गर्नुभयो ।


सो अवसरमा नेपाली कांग्रेस सूर्यविनायक नगर वडा नं. ५ को जस्टिक तजः टोल कमिटीको कार्यालय उद्घाटन गर्दै जिल्ला सभापति दुर्लभ थापाले वर्तमान जनप्रतिनिधिहरुले नगरमा गरेका भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्न नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी स्थानीय तहको निर्वाचनमा विजयी गराउन आह्वान गर्नुभयो ।
उहाँले सूर्यविनायक नगरभित्र अनियमित तरिकाले जग्गा प्लटिङ गरिएको र त्यसैको कमिशनले फेरी पनि निर्वाचन जित्ने दाउमा रहेको चर्चा गर्दै त्यस्ता जनप्रतिनिधिहरुलाई जनताले यसपटक तिरस्कार गर्ने दावी गर्नुभयो ।
यसैगरी सूर्यविनायक नगरपालिका ६, गणेशथान टोल कमिटीको कार्यालय उद्घाटन गर्दै नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय सभापति भेषबहादुर कार्कीले सूर्यविनायकमा जताततै भ्रष्टाचार भएको बताउनुभयो । उहाँले विकासका नाममा आफ्ना आसेपोसलाई मात्र उपभोक्ता समितिमा राख्ने र सार्वजनिक जग्गामा नीजि कम्पनीलाई प्लटिङ गर्न दिएर भूमाफियासँग साँठगाँठ गर्ने, शिक्षक तथा कर्मचारीहरु माथी ज्यादती गर्ने जस्ता क्रियाकलाप भएको आरोप लगाउँदैं नगरभित्र त्यस्ता क्रियाकलाप रोक्न आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।