पुनः उम्मेदवार बन्न नगरप्रमुख श्रेष्ठसहित मध्यपुर थिमि नगरपालिकाका ९ जनाले पदबाट राजीनामा दिए

भक्तपुर, बैशाख ९
पार्टीले टिकट दिए पुनः स्थानीय निर्वाचनमा उम्मेदवार बन्न मध्यपुर थिमि नगरपालिकाका प्रमुखसहित ९ जना जनप्रतिनिधिहरुले आज (शुक्रवार) पदबाट राजीनामा दिएका छन । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरेकोले प्रमुख श्रेष्ठसहित शुक्रवार ९ जनाले राजीनामा दिएका हुन ।
राजीनामा दिनेहरुमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, वडा नं. ५ का वडाअध्यक्ष अमृतमान श्रेष्ठ र वडा नं. ७ का वडाअध्यक्ष कृष्ण कुमार प्रजापति र वडा सदस्यहरु रामकेशरी श्रेष्ठ, मन्दिरा थापा नेपालीलगायतका छन । प्रमुख श्रेष्ठ उपप्रमुख अञ्जनादेवी मधिकर्मीलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको हो ।
त्यसअघि प्रमुख श्रेष्ठले वडाअध्यक्ष र सदस्यहरुको राजीनामा बुझ्दै सबैलाई धन्यवादसहित बिदाई गर्नुभएको थियो । प्रमुख श्रेष्ठले राजीनामासँगै नगरपालिकाले प्रदान गरेको मोवाइल सेट र ल्यापटपलगायतका सामग्री समेत प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीलाई हस्तान्तरण गर्नुभएको छ ।
प्रमुख श्रेष्ठले राजीनामापछि सामाजिक सञ्जालमार्फत ५ वर्षे सेवाअवधीमा साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ । साथै नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको शुभकामना व्यक्त गर्दै फेरी नयाँ तर सबल शुरूवातको अपेक्षा व्यक्त गर्नुभएको छ ।
यसैगरी जिल्ला समन्वय समिति भक्तपुरका सदस्य उमेश श्रेष्ठले पनि पदबाट राजीनामा दिनुभएको छ । उहाँले राजीनामा दिएको विषय सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको हो ।