सूर्यविनायकमा आज कांग्रेसका ६१ वटा कार्यालय एक साथ खुल्दै

भक्तपुर, बैशाख ९
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आज (शुक्रवार) नगरका ६१ वटा टोल कमिटिका कार्यालयहरु एकै पटक खोल्दैछ । नगरका वडा नं. १ देखी १० सम्म गठन गरिएका ६१ वटा टोल ईकाइ कमिटीका कार्यालयहरु एक साथ उद्घाटन गर्दै कार्यालय सञ्चालनमा ल्याउन लागेको हो ।
नगर कमिटिले त्यसका लागि प्रतिनिधिहरु समेत वडा वडामा खटाएको छ । नगर सभापति निशान ढुंगेलका अनुसार नगर प्रमुख र उपप्रमुखका आकांक्षी नेताहरुलाई वडा वडामा प्रतिनिधि खटाएको छ ।
जस अनुसार वडा नं. १ मा निशान ढुंगेल, २ मा नारायणभक्त खायमली र संगिता थापा, ३ मा राजनकाजी त्वाटी र मिना ढकाल, ४ मा सुशिल बस्नेत, ५ मा राजन बके र ललिता धिताल प्रतिनिधि तोकिएका छन ।
यसैगरी वडा नं. ६ मा भेषबहादुर कार्की र कान्छी माया श्रेष्ठ, ७ मा विष्णुराज कार्की र रिता खत्री, ८ मा उद्धव सिलवाल र सुनिता खत्री, ९ मा प्रेमबहादुर खड्का र १० मा रवि राणा र पुनम केसीलाई प्रतिनिधि खटाएको नगर सभापति ढुंगेलले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले विधान अनुसार जिल्ला मै पहिलो पटक टोल कमिटि गठनको शुरुवात गरेको थियो । नगर समितिले निर्वाचन लक्षित प्रचार प्रसारलाई थप प्रभावकारी बनाउन नगरमा गठन गरिएका ६१ वटै टोल कमिटिका कार्यालय एकै दिन एकै समय एकै साथ उद्घाटन गरी सञ्चालनमा ल्याउन लागेको सभापति ढुंगेलले बताउनुभयो ।