एकतावद्ध भएर निर्वाचनमा होमिने प्रतिवद्धता

भक्तपुर, बैशाख ८
नेपाली कांग्रेसका मध्यपुर थिमि नगरपालिकाका प्रमुख र उपप्रमुखका आकांक्षीहरुले जसलाई टिकट आएपनि एकतावद्ध भएर निर्वाचनमा होमिने र जित दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन । नेपाली कांग्रेस भक्तपुर प्रदेश सभा २ (ख) र मध्यपुर थिमि नगरसमितिले संयुक्तरुपमा बुधवार आयोजित कार्यक्रममा उम्मेदवारका आकांक्षीहरुले आफुले टिकट पाउनुपर्ने दावी गर्दै जसलाई टिकट आएपनि अग्रपंक्तिमा रहेर निर्वाचनमा खटिने प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा उम्मेदवारका आकांक्षीहरुले आफुले टिकट पाएर निर्वाचित भए नगरपालिकालाई कसरी अगाडि बढाउने भन्ने बारेको योजना समेत प्रस्तुत गरेका थिए । साथै राजनीतिमा प्रवेश गरी कांग्रेसको कुन कुन तहमा बसेर काम गरेको सो को विस्तृत विवरण समेत प्रस्तुत गरेका थिए ।
मध्यपुर थिमि नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसकातर्फबाट ९ जना आकांक्षी छन भने उपप्रमुखमा वर्तमान उपप्रमुखसहित ५ जना आकांक्षी छन । प्रमुखमा अष्ट कवे, केदार खड्का, सन्तोष भट्टराई, मुरारी प्रसाद आचार्य, सुरेन्द्र श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, गणेशमान चक्रधर र रामकाजी चक्रधरले टिकटको दावी गरेका छन ।
त्यसैगरी उपप्रमुखको टिकट दावी गर्नेहरुमा वर्तमान उपप्रमुख अञ्जनादेवी मधिकर्मी, उर्मिला वन, कल्पना कर्माचार्य, प्रमिला आचार्य र लक्ष्मी शोभा प्रजापति छन ।
नेपाली कांग्रेस भक्तपुर प्रदेश सभा २ (ख)का सभापति ओमप्रकाश श्रेष्ठको सभापतित्व र मध्यपुर थिमि नगरसभापति हरिदास प्रजापतिको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नगरका सबै वडाका वडाअध्यक्ष, वडा सदस्यका आकांक्षी तथा नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।