निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने दलहरुको प्रतिवद्धता

भक्तपुर, बैशाख ७
भक्तपुरका राजनीतिक दलहरुले स्थानीय निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएका छन । उनीहरुले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन निर्वाचन कार्यालय, प्रहरी प्रशासन र निर्वाचनमा खटिने कर्मचारीहरुले पनि निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिएका छन ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा मंगलवार सम्पन्न निर्वाचन आचार संहिताको कार्यान्वयन विषयको अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले आचार संहिताबारे आयोगले थप प्रष्ट पार्नुपर्नेमा समेत जोड दिएका छन ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि पाण्डव सुवालले सरकारी मुखपत्र गोरखापत्रले नै आचार संहिता विपरितका सामग्री प्रकाशन गरेको प्रतिक्रिया दिँदैं आचार संहिता उलंघन सम्बन्धी उजुरीमा तत्काल कारवाही गरी नियमानुसारको सजाय दिनुपर्ने सुझाव दिनुभयो ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोठे बासुले विगतमा दलितको सुचिमा सुचिकृत नभएका थरलाई समेत दलितको कोटामा उम्मेदवारी दिँदा पनि कारवाही नभएको गुनासो गर्दै आगामी निर्वाचनमा त्यस्ता गल्ती दोहोर्याउन नहुने सुझाव दिनुभयो ।


नेपाली कांग्रेसका जिल्ला सचिव सुशिल बस्नेतले कर्मचारीहरुले विगतका निर्वाचनहरुमा जस्तै आगामी निर्वाचनमा पनि निष्पक्ष र तथस्थ भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले राज्यका हरेक नीति नियम जस्तै निर्वाचन आचार संहिताको समेत पूर्ण पालना गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजाले निर्वाचन आचार संहिता धेरै लामो भएकोले मूख्य मूख्य बुँदालाई टिपोट गरी सानो बुकलेट प्रकाशन गरे आचार संहिताबारे थप प्रष्ट हुन सहज हुने बताउनुभयो । उहाँले आचार संहिता पालना गर्नको लागि निर्माण गरिएको हो भन्ने मनन् सबै दलहरुले गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मूख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि दलका प्रतिनिधि र उम्मेदवारसँग निर्वाचन आचार संहिताबारे थप छलफल गर्ने जानकारी दिनुभयो । उहाँले निर्वाचनमा आयोगमा बसेर दलहरु स्वयम्ले निर्वाचन आचार संहिता निर्माण गरेको स्मरण गराउँदैं यसको पालना गर्नुको सबैको दायित्व भएको बताउनुभयो । “निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित बनाउन दलहरुकै मूख्य भूमिका हुन्छ,” उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन स्वच्छ, धाँधली रहित र शान्तिपूर्ण हुनेमा शंका नगर्न आग्रह गर्नुभयो । उहाँले आचार संहिता धेरै लामो छलफलपछि कार्यान्वयनमा आएको बताउँदैं यसमा भएका व्यवस्था सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच भक्तपुरमा बैशाख ८ गते मूख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेभएको छ । यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भक्तपुर नगरपालिका–२ स्थित जनज्योती पुस्तकालयको पुरानो भवन दरवार स्क्वायरमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ ।
यसैगरी मध्यपुर थिमि नगरपालिकाको लागि कृषि विकास बैंकको तालिम केन्द्र बोडे, सूर्यविनायक नगरपालिकाको लागि राष्ट्रिय प्राणी उद्यान सूर्यविनायक, चाँगुनारायण नगरपालिकाको लागि नेपाल विद्युत प्राधिकरण केन्द्र खरिपाटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरिएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।