काठमाण्डौंमा वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने

भक्तपुर, बैशाख ५
खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाण्डौं उपत्यकामा यही बैशाख ११ गतेदेखी मेलम्चीको पानी वितरण हुने बताउनुभएको छ । मन्त्री चौधरीले काठमाण्डौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव कार्यक्रममा गत चैत २९ गते मेलम्ची आयोजनाको हेडबक्सबाट पानी सुरुङमा पथान्तरण गरिसकिएको जानकारी दिँदैं बैशाख ११ गतेबाट उपत्यकाम वितरण गर्ने बताउनुभएको हो ।
उहाँले बढ्दो शहरीकरण र जनघनत्वको वृद्धिले विद्यमान खानेपानीको माग र आपूर्तिबीचको अन्तर पूर्ति गरी उपत्यकाबासीलाई दीर्घकालीन रुपमा स्वच्छ, सफा र गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन मेलम्ची आयोजना शुरु गरिएको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले मेलम्ची खानेपानीको पहिलो चरणको कार्य सम्पन्न भई २०७७ चैत १५ बाट क्रमिक रुपमा पुरानो र नयाँ दुवै प्रणालीबाट खानेपानी वितरण गरिएकोमा २०७८ असार १ मेलम्चीमा आएको बाढी र त्यसपछिको प्राकृतिक प्रकोपका कारण आयोजनामा गम्भीर क्षति पुगी आयोजना सञ्चालनमा अवरुद्ध भएको बताउनुभयो ।
मेलम्ची खानेपानीको विकल्पको रुपमा मन्त्रालयले सिस्नेरी, ठोस्ने र महादेव खोला जलाशययुक्त आयोजना अध्ययन गरिरहेको बताउँदैं उहाँले खानेपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै लानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी वैशाखभित्रै भक्तपुरमा पनि पठाउनुपर्ने माग गर्दै मेलम्ची खानेपानी आयोजनाको विकल्पहरुबारे पनि अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । खानेपानीको स्रोत संरक्षण गर्न नसके भविष्यमा थुप्रै चुनौती र समस्याहरु उत्पन्न हुनसक्नेतर्फ इंगित गर्दैै उहाँले सरोकारवालाहरु सबै मिलेर खानेपानीका स्रोतहरुको संरक्षण र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।


भक्तपुरको नगरकोट क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिँदैं उहाँले खानेपानीको स्रोत संरक्षणको लागि सेनालाई दिनु उपयुक्त हुने र खानेपानी तथा ढल व्यवस्थापनका क्रममा जनस्तरबाट उठेका कुरालाई के.यु.के.एल. र पीआईडीले मनन गर्नुपर्ने बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बोर्डले मेलम्चीको पानीको विकल्पको रुपमा सिस्नेरी आयेजनालाई अगाडि ल्याएको जानकारी दिँदैं पीआईडी र केयुकेएलको काम स्थानीय तहसँग समन्वय गरी गर्नुपर्ने बताउनुभयो ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीबाट पानी पथान्तरणको कार्य हाल पूरा भएकोले उपत्यकाभित्र खानेपानी वितरणमा थप सहजता हुने विश्वास व्यक्त गर्दै वैकल्पिक स्रोतहरुको खोजी गरी उपत्यकामा खानेपानीको दीर्घकालीन समाधान गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको बताउनुभयो ।
त्यस्तै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले उपत्यकाको खानेपानी संवेदनशीलता एवम् आम उपभोक्ताको हितलाई प्राथमिकतामा राखी बोर्डले सेवा प्रदायक काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडमार्फत मौजुदा उत्पादन तथा वितरण प्रणाली, चुहावट नियन्त्रण, गुणस्तर, स्रोत परिचालन, मुहान संरक्षण, सरसफाई व्यवस्थापन एवम् सुधारलगायतका कार्यहरुमा सहकार्य गर्दै आइरहेको बताउनुभयो । उपत्यकाका करिब १६ ठाउँमा ‘वाटर एटीएम’ सञ्चालनमा ल्याइसकेको बताउनुहुँदै उहाँले बोर्डले वर्षातको पानी संकलन गरी पुनःभरण गर्ने काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव मीना श्रेष्ठ, केयुकेएलका कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सूर्यराज कँडेललगायतले उपत्यकाको खानेपानी र ढल निकासको अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।
सो अवसरमा वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुबीच आयोजित टेबुलटेनिस र ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई मेडल र प्रमाणपत्र वितरण प्रदान गरिएको थियो भने मन्त्री चौधरीले ‘वार रुम’को समेत उद्घाटन र बोर्डको वार्षिक प्रतिवेदन समेच विमोचन गर्नुभएको थियो ।