भैरवनाथको रथले किचेर ७१ वर्षिय बृद्धको मृत्यु

भक्तपुर, बैशाख ५
भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ)ले किचेर ७१ वर्षिय बृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज (सोमवार) रथ तान्ने क्रममा नासमना चोकमा रथले किचेर जात्रा हेर्न बसेका सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको हो ।
गःहिटीबाट रथ तानतान गरी बंशगोपालतर्फ लैजाने क्रममा नासमनामा चोकमा पुग्दा रथको पांग्राले कसपाललाई किचेर घाईते बनाएको थियो । उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
दिउँसो पौने ४ बजे घाईते भएका कसपाललाई उपचारका क्रममा साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । जात्रामा अप्रिय घटना भएपनि रथ तान्ने क्रम भने रोकिएको छैन । बिस्काः जात्राको अन्तिम दिन आज गःहिटीमा रहेको भैरवनाथको रथलाई तानतान गरी माथिल्लो र तल्लो टोलमा लैजाने परम्परा रहेको छ । दुवै टोलको परिक्रमा पछि टौमढीमा रथ पुर्याएपछि जात्रा सम्पन्न हुन्छ ।