भक्तपुरका तीन नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि नेकपा एमालेका ४१ नेताको टिकटमा दावी

भक्तपुर, चैत्र २७
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरको तीन नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि नेकपा एमालेका ४१ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन ।
जिल्लाको सूर्यविनायक नगरपालिकामा प्रमुखका ५ र उपप्रमुखका ८, मध्यपुर थिमिमा प्रमुखमा ७ र उपप्रमुखमा ४, चाँगुनारायण नगरपालिकामा १० र उपप्रमुखमा ६ जनाले उम्मेदवारी दावी गरेका हुन ।
सूर्यविनायक नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि बासुदेव थापा, किरण थापा, राजेन्द्र राजथला, सन्तोष ढुङ्गेल र राजकुमार सिलवालले नाम दर्ता गराएका हुन । नाम दर्ता गराएकाहरु मध्ये बासुदेव थापा वर्तमान नगरप्रमुख हुन किरण थापा वडा नं. ८ का वडा अध्यक्ष हुन् । राजेन्द्र राजथला नेकपा एमाले भक्तपुरका पूर्व अध्यक्ष हुन् ।
नगरप्रमुख थापाले पुनः कार्यकाल दोहोर्याउने ईच्छा व्यक्त गर्दै नगरप्रमुखमा दावी प्रस्तुत गरेका हुन । वडा अध्यक्ष थापाले पदोन्नती हुँदैं नगरप्रमुख बन्ने चाहना व्यक्त गरेका हुन ।
उपप्रमुखमा जुना बस्नेत, तारा सापकोटा, अम्बिका भण्डारी, सरिता तिमल्सिना, तारा खड्का बस्नेत, ममिता राउत, लक्ष्मी कार्की अधिकारी र विणा बस्नेतगरी ८ जनाले दावी प्रस्तुत गरेका छन ।
यसैगरी मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा वर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठ दोहोर्याउन चाहेका छन । उहाँले पनि नेकपा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार बन्ने ईच्छा व्यक्त गर्दै दावी दर्ता गरेका छन । मध्यपुर थिमिमा मदनसुन्दरसहित ७ जनाले दावी दर्ता गरेका छन । अन्य आकांक्षीहरुमा जिल्ला अध्यक्ष वचन देउजा, भाष्कर प्रधानांग, चन्दनकृष्ण श्रेष्ठ, चन्द्रभक्त श्रेष्ठ, तारामान जोशी र राष्ट्र शमशेर थापा छन ।
यस्तै उपप्रमुखमा ४ जना नेतृले उम्मेदवार बन्ने आकांक्षा राखेका छन । मध्यपुर थिमिको उपप्रमुखमा उत्तरा नेपाल, शकुन्तला श्रेष्ठ, विन्दु प्रजापति र सुचित्रा श्रेष्ठले टिकटको दावी गरेका छन ।
चाँगुनारायण नगरपालिकामा विना बास्तोला, नवराज गेलाल, रामवहादुर श्रेष्ठ, शम्भु दाहाल, रमेश बुढाथोकी, प्रेम कुमार श्रेष्ठ, मोहनवीर श्रेष्ठ, निरञ्जन बजगाई, गिता नेपाल र दामोदर ढंगालले नगरप्रमुखमा दावी गरेका छन ।
यस्तै उपप्रमुखमा शिवराम तिमिल्सिना, सरु थापा, सावित्री थापा, नारायण फुयाल, परासर सापकोटा र मन्दरा मिश्रले उम्मेदवारको आकांक्षा राखेका छन ।