भक्तपुरमा बिस्का जात्रा आजबाट शुरु, १४ सय सुरक्षाकर्मी परिचालन गर्ने

फाइल फोटो

लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट शुरु हुँदैछ । नव वर्षको आगमनसँगै शुरु हुने बिस्का जात्रा आज साँझ तमारी स्थित पाँचतल्ले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै शुरुवात गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । जात्रामा रौनकमा झुम्नेसँगै सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । रथ तान्नु अघि भैरवनाथको विधिवत पुजा गरी रथमा खड्ग, तरवार, निशान राख्ने गर्दछ । रथको अगाडि भागमा पाँच वटा र पछाडि चार वटा लामो डोरी राखिएको हुन्छ । जात्रालुहरुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ—आफ्नो टोलमा लैजाने गर्दछ । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।

जात्राको पहिलो दिन भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको तमारी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पु¥याई जात्रा सम्पन्न गरिन्छ । रथ तानेर लादा दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।

जात्राको दोस्र्रो दिन शुन्य भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ । लिङ्गो उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्ष विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरु नीलो कपडाले बेरिएको हुन्छ ।

????????????????????????????????????

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न नमिल्ने धार्मिक मान्यता छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपुर्वक पूजा गरी जात्रा गर्छ । त्यसपछि न्हेसटो(सात सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी दवीको त्वारीवा जात्रा गरी शक्ति पिठमा लाने परम्परा रहेको छ ।

बिस्का जात्रा हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पु¥याइन्छ ।

बिस्का जात्राको पाँचौं दिन अर्थात नयाँ वर्ष बैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ । लिङ्गो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवत रुपमा पुजा गरिन्छ । ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पु¥याई एक आपसमा जुधाइन्छ । जसलाई स्थानीय भाषमा खः ल्वाकिगु जात्रा भनिन्छ । यसै दिन राती तलेजुमा तान्त्रिक विधिपुर्वक दुमाजु देवीको पुजा गरी जात्रा गरिन्छ ।

बिस्काको छैठौ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौं दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । खलाँमा परदेशी भिमसेनको जात्रा गरिन्छ । यसैदिन बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रा समेत गरिन्छ । आठौ दिनमा नगरका सबै देवीदेवतालाई बाहिर राखेर क्षमा सहितको पुजा गरी सगुन जात्रा मनाइन्छ । जसलाई स्थानिय भाषामा द्यःस्वगं वियगु जात्रा भनिन्छ । यसदिन साँझ चोछेंमा छुमा गणेशको जात्रा गरिन्छ ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने(माथिल्लो) र क्वने(तल्लो) टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारी स्थित भैरवनाथको प्राङ्गनमा पु¥याई जात्रा सम्पन्न गरिन्छ ।

सुर्यमासको आधारमा चल्ने बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाईएको संस्कृतीविद् एवम् ईतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन । “भक्तपुर तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनि उल्लेख गरिएको छ । त्यसैगरी भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पुजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ ।” उहाँ भन्नुहुन्छ, “यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामाकरण अनुसार विसिक, बिस्क, बिस्का हुन पुगेको हो । त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।”
प्रा. डा. श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती समेत गलत भएको दावी समेत गर्नुभएको छ । उहाँले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धीत रहेको र यसको प्रचलित सर्प मारेको र नागनागिनीसँग जोडिएको किंदन्ती भ्रम मात्र रहेको बताउनुभयो । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतिक लिंगोमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जर्वजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ । उहाँले भन्नुभयो, “नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने वि को अर्थ हो पुरानो । नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधि पुर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ । स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो ? स्यातबाट कसरी स्का हुन गयो ? यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालिन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्व केतु, विर ध्वजा लेखिएको छ । यस मानेमा विश्व नाथको ध्वजा विश्वध्वजा हो । विर ध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा विर भनेर भैरवको वाहान विर बेताललाई भनिएको हो । त्यस मानेमा पनि यो ध्वाजा विश्व ध्वाजा र विर ध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो ।”
जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने क्रममा र लिङ्गो उठाउने बेलामा झडप हुने गरेको छ । त्यसैले सम्भावित झडप रोक्न र जात्रालाई व्यवस्थित रुपमा सम्पन्न गर्न यसवर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी भएको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा रथले किचेर मानिसको मृत्यु हुने र जात्रा सञ्चालन हुने स्थानका संरचनाहरुमा क्षति पुग्ने भएकाले दिउँसो जात्रा शुरु गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्धादेवी शर्माले बताउनुभयो ।
प्रजिअ शर्माले जात्रालाई मर्यादित र समयमै शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणवद्धरुपमा सरोकारवालाहरुसँग छलफल गरेर रणनीति तयार गरेको बताउनुभयो ।
नौ दिनसम्म चल्ने जात्राको लागि आवश्यकता अनुसार सुरक्षाकर्मी परिचान गर्ने पुरा तयारी भैसकेको महानगरिय प्रहरी प्र्रमुख एसपी शिवकुमार श्रेष्ठले बताउनुभयो । उहाँले जात्राको लागि ९ सय ५० नेपाल प्रहरी ४ सय सशस्त्र प्रहरी परिचालन गरिने जानकारी दिनुभयो । आवश्यकता परे थप सुरक्षाकर्मी परिचालन गर्ने गरी तयारी सहित जात्रामा उत्श्रृंखल गतिविधि गर्ने र हुलदंगा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरुपमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने उहाँले बताउनुभयो ।
रथमा अनियन्त्रित तरिकाले अत्याधिक मानिस चढ्ने र त्यसले गर्दा रथबाट खसेर घाईते हुनुका साथै रथले किचेर ज्यान समेत जाने गरेकाले त्यसलाई नियन्त्रण गर्न रथमा भैरव नाईके, गुथि र आवश्यक पदाधिकारी मात्र चढ्ने व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
जात्रामा हुलदंगा गर्नेको पहिचानका लागि चोक चोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै उहाँले सो क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि प्रमाणका आधारमा नियन्त्रणमा लिई कारबाही गरिने बताउनुभयो । जात्रामा हुलदंगा गरि सुरक्षा व्यवस्थामा खलल पुर्याउनेलाई पक्राउ गरी कानुन अनुसार कारबाही गर्ने प्रमुख श्रेष्ठले बताउनुभयो ।