३२ औं प्रजातन्त्र पुनःस्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान

भक्तपुर, चैत्र २६

३२ औं प्रजातन्त्र पुनःस्थापना दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुरले शनिवार शुभकामना आदानप्रदान तथा लौह पुरुष गणेशमान सिंहको तस्विर माल्यापर्ण गरेको छ । पार्टी कार्यालय ईंटापाकेमा आयोजित सो कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले आसन्न स्थानीय तहको निर्वाचनमा एकजुट भएर निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
उहाँले कम्युनिष्टहरुको जितले लोकतन्त्र सधै खतरामा पर्ने गरेको चर्चा गर्दै लोकतन्त्रको स्थायित्वको लागि पनि कांग्रेसको जितको विकल्प नभएको बताउनुभयो । उहाँले कांग्रेसलाई कांग्रेसले नै हराउँछ भन्ने भ्रम हटाउन पनि निर्वाचनमा एकजुट भएर लाग्नुपर्ने खाँचो औंल्याउनुभयो ।
“निर्वाचन नजिकै आउँदैछ, उम्मेदवार चयनको प्रक्रियामा रहेको छ । कांग्रेसले निर्वाचन हार्दा कस्तो हुँदो रहेछ भन्ने अनुभुती सबैसँग छ,” उहाँले भन्नुभयो, “पहिला निर्वाचन जितौं । त्यसका लागि कांग्रेस एकजुट भएर अघि बढ्न आवश्यक छ ।”
कार्यक्रममा वरिष्ठ पत्रकार एवम् नेपाली कांग्रेसका अग्रज नेता माथवरसिंह बस्नेतले प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली कांग्रेसका नेता, विशेषगरी लौह पुरुष गणेशमान सिंहको योगदान र उनीहरुले भागेका कष्टपूर्ण जीवनको चर्चा गर्नुभएको थियो ।
कार्यक्रम संयोजक कविर राणाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय मदनकृष्ण श्रेष्ठ, रमा कोइराला, जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रीय सभापतिहरु, नगरसभापतिहरु, प्रदेश सभा क्षेत्रीय सभापतिहरुलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।