गठबन्धनलाई सशक्त ढंगले अघि बढाउने युवा संगठनहरुको निर्णय

भक्तपुर, चैत्र २६
सत्तारुढ पाँच दलिय गठबन्धनका युवा संगठनहरुले आगामी स्थानीय निर्वाचनमा गठबन्धनलाई सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनका युवा संगठनहरुको भक्तपुरमा शुक्रवार बसेको बैठकले स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन एकजुट भएर लाग्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनको मतको रक्षा गर्न सबै युवा एक भएर अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
बैठकले प्रतिगमनविरुद्ध र संविधानको रक्षाको निम्ती बनेको गठबन्धनलाई थप मजबुद बनाएर लैजाने निर्णय समेत गरेको नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले बताउनुभयो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपालका युवा संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।