निष्पक्षरुपमा कार्यकर्ताको मूल्यांकन गरी टिकट वितरण हुन्छ – सभापति थापा

भक्तपुर, चैत्र १३
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले स्थानीय तहको निर्वाचनका लागि पार्टीले निष्पक्षरुपमा कार्यकर्ताको मूल्यांकन गरी टिकट वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस चाँगुनारायण नगर ३ नं. वडा कार्यसमिति झौखेलले वडामा गठन भएका ८ वटा टोल कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको भेलामा सभापति थापाले वडा समितिले सर्वसम्मतरुपमा उम्मेदवार सिफारिस गर्न आग्रह गर्दै त्यसो हुन नसके पार्टीले कार्यकर्ताको योगदानको आधारमा निष्पक्ष तरिकाले मूल्यांकन गरी उम्मेदवार बनाउने बताउनुभएको हो ।
सभापति थापाले कांग्रेसका उम्मेदवारलाई ईमान्दारीताका साथ सबै कार्यकर्ता एकजुट भएर विजयी गराउनुपर्ने बताउनुभयो । “स्थानीय निर्वाचनका लागि वडाबाटै सर्वसम्मत उम्मेदवार चयन गर्नुस । त्यसो हुन नसके पार्टीले कार्यकर्ताको ईमान्दारिता र योगदानको आधारमा टिक दिनेछ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता एवं बागमती प्रदेशका भौतिक पूर्वाधार तथा निर्माण मन्त्री माननीय कृष्णलाल भँडेलले केपी ओलीका सरकार आफ्नै दम्भका कारण ढलेको बताउदै जनताको जीवन रक्षाको लागि दिइने खोपमा पनि अघिल्लो सरकारले भ्रष्टाचार गरको आरोप लगाउनुभयो ।


नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्रीले देशको आर्थिक समृद्धिको लागि कांग्रेसले एमसिसि पास गरेको बताउँदैं आगामी निर्वाचन अधिनायकवादी शक्ति र लोकान्त्रिक शक्ति बीचको लडाई भएकोले रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसलाई बिजयी गराउन आम मतदातालाई आग्रह गर्नुभयो ।
जिल्ला सचिव राजेश खड्काले ८ हजार मतदातालाई रिझाउन लाग्दा विपक्षमा रहेका १४ हजार मतदाताको भावनामा ठेस पुग्ने गरी नगर प्रमुखले कार्य गरेको आरोप लगाउनुभयो ।
जिल्ला सहसचिव यादव प्रसाद अधिकारीले विश्व सम्पदा सुचिमा परेको चाँगुनारायणको नाम समेत बदनाम गर्नेगरी चाँगुनारायण नगरपालिकामा भ्रष्टाचार भएको कारण अख्तियारले समेत छापा मारेको स्मरण गराउनुभयो ।


नेपाली कांग्रेस बागमति प्रदेशका सदस्य सरु बानियाँले नगरपालिकाले जनतालाई रोजगारी दिन नसकेको र जनताको जीवनस्तर बृद्धिको कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । नगर सभापति शिवहरी के.सीले जनताको मुक्तिको लागि कांग्रेसले काम गरीरहेको बताउनुहुदै अहिलेको सत्ता गठबन्धन लोकतन्त्रको रक्षाका लागि भएको बताउनुभयो ।
नेपाली कांग्रेस चाँगुनारायण वडा नं. ३ का सभापति राजेश शाही ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्रतिनिधि देबेन्द्र न्यौपाने, बागमती प्रदेशका प्रतिनिधी इन्दिरा चौलागाईंलगायतले आगामी निर्वाचनमा महिला सहभागिता बृद्धि गरी पार्टीका भातृ तथा शुभेच्छुक सबैलाई क्रियाशील गराई गतिबिधिहरु गर्न सकेमा जित सुनिश्चित हुने बताउनुभयो ।