मध्यपुर थिमि नगरपालिकाका दुई परस्पर विरोधी सूचना, अन्योलमा नगरवासी र कर्मचारी

भक्तपुर, चैत्र १३
चैत्र १४ गते । मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवस । भक्तपुरका अन्य नगरपालिकाहरुले आफ्नो स्थापना दिवस भव्य र बृहत कार्यक्रमका साथ मनाउँदैं आएको छ । तर मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवसमा भने सधैं विवाद उत्पन्न हुने गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवसका अवसरमा विगतमा नगरप्रमुख र उपप्रमुखले छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका घटना पनि छन । यसै सन्दर्भमा यसवर्ष पनि नगरपालिकाको स्थापना दिवसका बारेमा नगरपालिकाको दुई छुट्टाछुट्टै सूचना जारी भएका छन, जुन सूचना परस्पर विरोधी छन ।
नगरपालिकाको स्थापना दिवसको बारेमा आइतवार नगरपालिकाका प्रवक्ता राम थापा मगर र नगरपालिकाका प्रशासकिय अधिकृत धनकृष्ण श्रेष्ठले परस्पर विरोधी दुई भिन्नाभिन्नै सूचना जारी गरेका हुन ।
प्रवक्ता थापाले जारी गरेको सूचनामा नगरपालिकाको २६ औं स्थापना दिवसको अवसरमा चैत्र १४ गते नगरपालिका र नगरपालिका मातहतका कार्यलयहरुलाई सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । साथै नगरवासीलाई साँझ दिपावली गर्न समेत आग्रह गरिएको छ ।
‘यही मिति २०७८ चैत्र १४ गते यस नगरपालिकाको २६ औं स्थापना दिवस मनाउने शिलशिलामा उक्त दिन राष्ट्र सेवक कर्मचारी, यस नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरु उक्त दिन सार्वजनिक विदा दिने नगरपालिका स्तरिय निर्णय भएकाले सो दिन नगरपालिका लगायत मातहतका कार्यालयहरुमा दिपावली गरी सम्पूर्ण नगरवासीहरुलाई समेत आ–आफ्नो घरमा दिपावली गरी स्थापना दिवस मनाउन सम्पूर्ण नगरवासीहरुका लागि यो विज्ञप्ती प्रकाशित गरिएको छ,’ विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी प्रशासकिय अधिकृत श्रेष्ठले जारी सूचनामा स्थापना दिवसको अवसरमा विदा दिने कुनै आधिकारिक निर्णय नभएको जानकारी दिईएको छ । ‘मिति २०७८ साल चैत्र १४ गतेका दिन यस नगरपालिकाको स्थापना दिवसको सन्दर्भमा विदा हुने हालसम्म कुनै आधिकारिक निर्णय नभएको व्यहोरा निर्देशनानुसार सम्बन्धीत सबैको जानकारीको लागि अनुरोध गरिन्छ,’ श्रेष्ठले जारी सूचनामा उल्लेख छ ।
नगरपालिकाका दुई जिम्मेवार व्यक्तिले जारी गरेका दुई परस्पर विरोधी सूचनाले नगरपालिका, मातहतका कार्यालय, कर्मचारी र नगरवासीमा समेत अन्योल उत्पन्न भएको छ । चैत्र १४ गते सार्वजनिक विदा हो की होइन भन्ने अन्योल उत्पन्न भएको नगरपालिकाका कर्मचारीहरुले बताएका छन ।


उपप्रमुखसहित नेपाली कांग्रेसको दुई तिहाई बहुमत रहेको नगरपालिकामा नगरप्रमुख नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ निर्वाचित भएका छन । विगतमा कांग्रेसका जनप्रतिनिधि दुई समूहमा विभाजित हुँदा नगरप्रमुख श्रेष्ठले आफु अनुकुलको समूहसँग मिलेर नगरपालिका सञ्चालन गर्दै आएका थिए । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको दौरान सम्पन्न नगर र जिल्ला अधिवेशनपछि कांग्रेसका जनप्रतिनिधि एक भएका छन । कांग्रेसका जनप्रतिनिधिहरु एक भएसँगै नगरप्रमुख श्रेष्ठ अल्पमतमा परेका छन ।
नगरपालिकाका प्रवक्ता थापा मगर नेपाली कांग्रेसका हुन । स्रोतका अनुसार श्रेष्ठले नगरप्रमुख श्रेष्ठको निर्देशनमा सूचना प्रकाशन गरेका हुन । यसले नगरपालिकामा नगरप्रमुख श्रेष्ठ र नेपाली कांग्रेसका जनप्रतिनिधिहरुबीच विवाद बढेको स्पष्ट भएको छ ।