चुनाव जित्न जनताको घर घरमा पुग्नुपर्छ – कांग्रेस बागमति उपसभापति महर्जन

भक्तपुर, चैत्र १
नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनले चुनाव जित्न जनताको घर घरमा पुग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र ख ले मध्यपुर थिमिको शंखधर चोकमा मंगलवार आयोजित कार्यालय उद्घाटन कार्यक्रममा बागमती प्रदेश उपसभापति महर्जनले चुनाव जित्न भाषण भन्दा पनि जनताको घर घरमा पुग्न जरुरी भएको बताउनुभएको हो ।
“भाषण गरेर मात्र अबका दिनमा चुनाव जित्न सकिँदैन । जनताको घर घरमा पुगेर उनीहरुका कुरा सुन्ने र उनीहरुका समस्या समाधान गर्ने ऐजेण्डा ल्याउनुपर्छ,” उहाँले भन्नुभयो, “अनि मात्र कांग्रेसले चुनाव जित्छ ।” उहाँले जनताको घरमा जाँदा कांग्रेसका नेताहरु एकजुट भएर जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले विभिन्न बहानामा कांग्रेसलाई राष्ट्रघाती देखाउने र आम मतदातालाई भ्रममा पार्ने प्रयास भइरहेको बताउँदैं ‘घर घर जाऊँ, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत जनताको घर घरमा पुगेर त्यस्ता दुस्प्रयासलाई असफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।


कार्यक्रममा बागमति प्रदेशका उद्योग, वाणिज्य तथा आपुर्ती राज्यमन्त्री रजनी जोन्छेंले पार्टी भित्र कुनै गुट उपगुट नभनी कांग्रेस भनेर अघि बढे स्थानीय निर्वाचनमा जित हासिल गर्न कांग्रेसलाई कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।
नेपाली कांग्रेस बागमति प्रदेशका महामन्त्री कञ्चन बाडेले विगतमा कसले के गर्यो भन्दा पनि अब कसरी अघि बढ्ने भन्ने बारे छलफल र बहश जरुरी भएको बताउनुभयो ।
जिल्ला सभापति दुर्लभ थापाले मध्यपुर थिमिमा कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरुले विगतमा दुई समूहमा विभाजित भएर गल्ती गरेको र उक्त गल्ती समयमा सच्याउन नसक्नु जिल्ला सभापतिको हैसियतले त्यसको जिम्मेवारी लिने बताउँदैं त्यसरी दुई समूहमा विभाजित भएर मेयरलाई साथ दिने जनप्रतिनिधिहरुले गल्तीको जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।


नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र ख का सभापति ओमप्रकाश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका पुर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, नेता अष्ट कवे, प्रेम कुटु विनु केसीलगायतका नेताहरुले मध्यपुर थिमि कांग्रेसको गढ भएको दावी गर्दै विगतको कमीकमजोरीलाई सच्याएर अघि बढे कांग्रेसको जित सुनिश्चित रहेको बताएका थिए ।