ताथलीमा नीजि जग्गाको बीचबाट बाटो निर्माण, जनप्रतिनिधिले अन्याय गरेको पिडितको आरोप

भक्तपुर, फागुन ३०
चाँगुनारायण नगरपालिका–९, ताथलीमा वडा कार्यालयले जबरजस्ती स्थानीय व्यक्तिको जग्गाको बीचबाट बाटो निर्माण गरेको छ । वडा कार्यालयले स्थानीय रुपा खड्काको साविक ताथली गाविस वडा नं. ४ को कित्ता नं. ५११ को जग्गाको बीचबाट जबरजस्ती बाटो निर्माण गरेको हो ।
पिडित रुपा खड्काकी पति राम खड्काले जग्गाको बीचबाट बाटो लगेर घडेरी नै बिगार्न खोजेको आरोप लगाउनुभयो । उहाँले वडाका जनप्रतिनिधिहरुले व्यक्तिगत रिसिवीईका कारण आफ्नो जग्गाको बीचबाट बाटो खोल्ने काम गरेको समेत आरोप लगाउनुभयो । उहाँले नापी नक्सामा बाटो नै नभएको अवस्थामा पनि जबरजस्ती नगरप्रहरीको सहयोगमा बाटो खोल्ने काम गरेको बताउनुभयो ।
वडा अध्यक्ष गणेश त्यातले उक्त स्थानमा नक्सामा बाटो नभएपनि प्रयोग भइरहेको बाटो रहेको र हाल जग्गा धनीले बाटो बन्द गर्न खोजेकोले सामान्यरुपमा डोजर मार्फत बाटोको सिमांकन मात्र स्पष्ट पारेको बताउनुभयो । “नक्सामा बाटो नभएपनि व्यवहारिकरुपमा बाटो छ,” उहाँले भन्नुभयो । वडा अध्यक्ष त्यातले सर्वोच्च अदालतले समेत उक्त स्थानमा बाटो भएको फैसला गरेको दावी गर्नुभयो ।
जग्गाधनी राम खड्काले अदालतले आफ्नो कित्ता नं. ५११ मा नभई सँगै रहेको ५१० मा बाटो भएको फैसला गरेको दावी गर्नुभयो । “सर्वोच्च अदालतको फैसला अनुसार कित्ता नं. ५१० को किनारै किनार बाटो निर्माण गरी चालु अवस्थामा छ, फैसलामा कित्ता नं. ५११ को सम्बन्धमा केही बोलेको छैन,” खड्काले भन्नुभयो ।