मतपत्रमा हरियो मसी प्रयोग गर्दैमा डराउनु पर्दैन – नेता बस्नेत

भक्तपुर, फागुन ३०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले नेकपा एमालेलाई मतपत्रमा हरियो मसी प्रयोग गर्दैमा नडराउन आग्रह गर्नुभएको छ । घर घर जाऔं, कांग्रेस जिताऔं अभियान अन्तर्गत नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ ले सोमवार आयोजना गरेको स्थानीय निर्वाचनमा महिलाको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा नेता बस्नेतले निर्वाचन जनताको मतले जित्ने हो मतपत्रको मसीको रंगले होइन भन्दै नेकपा एमालेलाई मतपत्रमा हरियो मसी प्रयोग गर्दैमा नडराउन आग्रह गर्नुभएको हो ।
“हिजो रातो मसी प्रयोग गर्दा कांग्रेस डराउनु नपर्ने, आज हरियो रंग प्रयोग गर्दा एमालेलाई डर लाग्नुको कारण के हो ?”, नेता बस्नेतले भन्नुभयो, “मतपत्रमा हरियो रंग प्रयोग गर्दैमा एमाले डराउनु पर्ने कारण छैन ।”
महिलाहरुमा नेतृत्व र व्यक्तित्व विकासका लागि पार्टीले देशभरी नै प्रशिक्षण सञ्चालन गर्ने अभियान थालेको बताउँदैं नेता बस्नेतले महिलाहरुले पनि पार्टीको मुल नेतृत्वमा पुगेर पार्टी सम्हाल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । “घरको भान्छाको उचित व्यवस्थापन गर्न सक्ने महिलाहरुले पार्टीलाई पनि उत्तिकै व्यवस्थापनका साथ सञ्चालन गर्न सक्छ भन्ने विश्वास पार्टीले लिएको छ,” उहाँले भन्नुभयो ।
उहाँले पार्टीमा मात्र होइन कुनै पनि क्षेत्रमा अगाडि बढ्नको लागि प्रशिक्षण जरुरी भएको र प्रशिक्षणले आफुमा भएको ज्ञान सिपलाई पुनर्ताजगी गर्ने भएकाले प्रशिक्षणलाई महत्वका साथ लिन आग्रह गर्नुभयो । उहाँले सक्षम छ भने महिलाले पनि स्थानीय तहको प्रमुख हुन सक्छ भन्दै महिलाहरुले पनि उपप्रमुखको मात्र दावी गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले आधा आकाश ढाकेका महिलाहरु जति सक्षम हुन्छन त्यति पार्टी पनि बलियो हुने भएकाले पार्टीले प्रशिक्षणलाई जोड दिएको बताउनुभयो । “प्रशिक्षण, तालिम, गोष्ठि, अन्तरक्रियाबाटै नेतृत्व विकास हुने हो, व्यक्तिलाई सक्षम बनाउने हो,” उहाँले भन्नुभयो, “सक्षम व्यक्ति नै अन्ततः नेतृत्वमा पुग्ने हो ।”
नेपाली कांग्रेसका नेता अष्ट कवेले प्रशिक्षण नहुँदा कांग्रेसका नेताहरुले विपक्षीसँग तर्क संगत भनाई पनि राख्न नसक्ने अवस्था रहेको चर्चा गर्दै महिलाहरुका लागि मात्र नभई पुरुष र पार्टीका जिल्लाका शिर्ष नेता, महासमिति र महाधिवेशन प्रतिनिधिहरुलाई पनि प्रशिक्षणको खाँचो रहेको बताउनुभयो ।
क्षेत्रीय सभापति भेषबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व जिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठलगायतका नेताहरुले प्रशिक्षणको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।