चाँगुनारायणमा कांग्रेसको प्रशिक्षण सम्पन्न

भक्तपुर, फागुन २९
नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, वडा कार्य समितिका पदाधिकारीहरुलाई नेतृत्व विकास एवम् संगठन बिस्तार सम्बन्धी प्रशिक्षण गरेको छ ।
कार्यक्रममा सहभागीहरुलाई नेपाली कांग्रेसका सह महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, भक्तपुरका कांग्रेस नेता सुरेन्द्र के.सीले संगठन बिस्तार, कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको काम कर्तव्य, कांग्रेसको इतिहास, नीति, सिद्धान्त, समसामयिक राजनैतिक मुद्दाहरु, नेतृत्व विकास, नेपाली कांग्रेसको संगठनात्मक संरचना र एम.सि.सि विषयमा प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा सह महामन्त्री उपाध्यायले पार्टीको संगठन विकास तथा विस्तारको लागि सबै कार्यकर्ताहरु जनताको घरघर पुगेर कांग्रेसको सन्देश सुनाउनुपर्ने भएकोले यस प्रकारको प्रशिक्षण आवश्यक रहेको बताउनुभयो ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं ‘घर घर जाआँै, कांग्रेस जिताऔं’ अभियान, भक्तपुरका लागि केन्द्रीय प्रतिनिधि जितजंग बस्नेतले एमसिसिको बारेमा जनतामा ब्याप्त रहेको भ्रम चिर्नुपर्ने दायित्व कांग्रेसको रहेकोले आफ्ना कार्यकतालार्ई जनताको घरदैलोमा जानको लागि प्रेरित गर्नुभयो । उहाँले स्थानीय निकायमा सबल नेतृत्व हुनसकेमा मात्र पार्टीलाई आगामी निर्वाचनमा जिताउन सकिने भएकोले यस प्रकारको प्रशिक्षणले कार्यकर्ताहरुमा भएको ज्ञान र सीपलाई तिखार्न मद्दत पुग्ने बताउनुभयो ।
प्रशिक्षणमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला सभापति दुर्लभ थापाले आगामी बैशाखमा हुन गइरहेको स्थानीय निर्वाचनमा भक्तपुर जिल्लाका ४ वटै स्थानीय तहमा कांग्रेसलाई विजयी गराउनको लागि ‘घर घर जाँउ, कांग्रेस जिताऔं’ अभियान सफलतापुर्वक सम्पन्न गर्नुपर्ने भएकोले सबै कार्यकर्ताहरुलाई जनताको घरघरमा जानको लागि निर्देशन दिनुभयो ।


नेपाली कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिबहरी के.सीको सभापतित्वमा सम्पन्न प्रशिक्षणमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, क्षेत्र नं १ का क्षेत्रिय सभापति जिबन खत्री, प्रदेश १ क भक्तपुरका सभापति जयन्द्र खड्का, महासमिति सदस्यहरु जगन्नाथ कार्की, सुभद्रा काफ्ले, सुरेश श्रेष्ठ, नेपाल बार एशोसिएसन भक्तपुरका अध्यक्ष एवं जिल्ला सदस्य रबिन्द्र प्रधान, महाधिवेशन प्रतिनिधि मनोजकुमार थापा, पुरुषोत्तम लामिछाने, जिल्ला सचिव राजेश खड्कालगायतको उपस्थित थियो । प्रशिक्षणमा १८ महिला र ४३ पुरुष गरी ६१ जनाको सहभागिता रहेको नगर सचिव दिनेश थापाले बताउनुभयो ।