नेपालमा कम्युनिष्टहरु रहेसम्म समृद्धि हासिल हुँदैन – नेता बस्नेत

भक्तपुर, फागुन २९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेपालमा कम्युनिष्टहरु रहेसम्म समृद्धि हासिल नहुने बताउनुभएको छ । भक्तपुरमा आइतवार ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उद्घाटन गर्दै नेता बस्नेतले कम्युनिष्टहरुले भ्रम खेती गर्ने भएकाले उनीहरु रहेसम्म समृद्धि हासिल गर्न नसकिने बताउनुभएको हो ।
उहाँले नेपालमा समृद्धि ल्याउने हो भने कांग्रेसको विकल्प नभएको जिकिर समेत गर्नुभयो । “कम्युनिष्टहरुले जनतामा भ्रमको खेती गरिरहेका छन । भ्रमको खेती गर्नेबाट विकास र समृद्धि सम्भव छैन । जबसम्म नेपालमा कम्युनिष्टहरु बलियो हुन्छ तबसम्म समृद्धिको कल्पना गर्न सकिन्न । नेपालमा समृद्धि ल्याउने हो भने कांग्रेसको विकल्प छैन,” उहाँले भन्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुले सिद्धान्त एउटा गर्ने र व्यवहार अर्को गर्ने गरिएको समेत आरोप लगाउनुभयो ।
उहाँले देशको विकास, सार्वभौम सत्ताको रक्षा र राष्ट्रिय एकताका लागि आगामी निर्वाचनमा जित सुनिश्चित गर्न कांग्रेसले ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले अभियानमा वडाका टोल टोलमा टोल कमिटी गठन गर्ने, जनताका घर घरसम्म पुगेर कांग्रेसको नीति, विचार प्रवाह गरी कांग्रेसको असली चरित्र जनता समक्ष बुझाई मत आकर्षित गर्ने अभियानको उद्देश्य रहेको बताउनुभयो । अभियानले कांग्रेस भित्रका विशेषगरी अधिवेशनका बेला भएका मनमुटावलाई समाप्त गरी कांग्रेस आफैंपनि सुध्रिने अवसर दिने भएकाले अभियानलाई सफल बनाउन कांग्रेसका हरेक तह उत्तिकै जिम्मेवार ढंगले लाग्नुपर्ने खाँचो औंल्याउनुभयो ।
नेता बस्नेतले राष्ट्रिय स्वाधीनताका लागि कांग्रेसको योगदान अतुलनीय रहेको चर्चा गर्दै एमसिसी सम्झौता अनुमोदन नगरे अन्य अनुदानमा समेत बाधा पुग्ने भएकाले कांग्रेसले देश हितका लागि एमसिसी सम्झौता संसदबाट अनुमोदन गराएको जिकिर गर्नुभयो ।
उहाँले आगामी निर्वाचनमा भक्तपुरका चारवटै नगरलाई कांग्रेसमय बनाउनका लागि पार्टी कार्यकर्ता र शुभचिन्तकहरु एक हुन जरुरी रहेको बताउँदै पार्टीभित्रको अन्तरघातलाई परास्त गर्न समेत अनुरोध गर्नुभयो ।

 


नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले हरेकको काँधमा भारी, सबैको हातमा जिम्मेवारीको नाराका साथ अभियान सुरु भएकाले तन, मन, धनले अभियानमा लागेर कांग्रेस जिताउन तिर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेस दुई वटा कहिले पनि नभएको जिकिर गर्दै कांग्रेस सधै एकतावद्ध भएर अघि बढेको दावी गर्नुभयो ।
“कांग्रेस एक हुनुपर्छ भन्ने आवाज सुनिन्छ । तर मलाई देखाई दिनुस दुई वटा कांग्रेस कहाँ छ ? कांग्रेस केन्द्रमा एक छ, जिल्लामा एक छ, प्रदेश, नगर र वडामा एक छ । कहाँ छ कांग्रेस दुई वटा ?”, उहाँले भन्नुभयो ।
उहाँले अधिवेशनका दौरान नेतृत्व हत्याउन समूह, गुट उपगुट जे जे बनाएर अघि बढेपनि अधिवेशनपछि सबै कांग्रेसको चार तारे झण्डा, निर्वाचन चिन्ह रुख र विधान मुनी गोलवद्ध भएको बताउनुभयो ।
कार्यक्रममा पुर्व जिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठ, भक्तपुर क्षेत्र नं. १ का कांग्रेस सभापति जीवन खत्री, जिल्ला सहसचिव यादव अधिकारीलगायतले अभियानलाई सफल बनाउन हरेक तह र तप्काका कांग्रेस सक्रिय भएर लाग्र्नुपर्नेमा जोड दिएका थिए ।