संगठन बिस्तारसँगै कांग्रेसमा नेतृत्व विकास आवश्यक – नेता बस्नेत

भक्तपुर, फागुन २८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले संगठन बिस्तारसँगै कांग्रेसमा नेतृत्व विकास समेत जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले शनिवार आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा बस्नेतले नेतृत्व सक्षम भए मात्र संगठनले गति लिने भएकाले कांग्रेसमा नेतृत्व विकास जरुरी भएको बताउनुभएको हो ।
कांग्रेसको ‘घर घर जाऊँ, कांग्रेस जिताऊँ’ अभियान अन्तर्गत भक्तपुरका लागि केन्द्रीय प्रतिनिधि समेत रहनुभएका बस्नेतले निर्वाचन अघि कांग्रेसले नेता कार्यकर्ताहरुको व्यक्तित्व विकासमा समेत जोड दिँदैं प्रशिक्षणलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पार्टीका विभिन्न तहमा निर्वाचित पदाधिकारीहरुलाई सक्षम बनाउन पार्टीले प्रशिक्षण अभियान शुरु गरेको बताउँदैं यसले आगामी निर्वाचनमा पार्टीलाई जित दिलाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेलले प्रशिक्षणमा सहभागीहरुले प्रशिक्षणमा प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर वडा वडामा पार्टीको संगठन बिस्तार उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


नेपाली कांग्रेस सूर्यविनायक नगर प्रशिक्षण शाखा संयोजक रमेश अधिकारीको संयोजकत्वमा सञ्चालित प्रशिक्षण कार्यक्रममा जनार्दन घिमिरे, सुरेन्द्र केसीलगायतले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा सूर्यविनायक नगरपालिकाका १० वटै वडा इकाई समितिका सचिव र सहसचिवहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश समिति सदस्य सुमन कार्की, क्षेत्र नं. २ को प्रदेश क्षेत्र नं. (क)का सभापति प्रदीप कार्कीलगायतले प्रशिक्षणले नेतृत्व र ब्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।