भक्तपुर अस्पतालका निमित्त मे.सु.को प्रश्न – सञ्चालन नै नभएको सेवा कसरी बन्द भयो ?

भक्तपुर, फागुन २६
भक्तपुर अस्पतालले बच्चाको आइसीयु (एनआइसीयु) सञ्चालन नै नभएको जनाएको छ । अस्पतालले बिहिवार पत्रकार सम्मेलन गर्दै आस्पतालमा एनआइसीयु सञ्चालन नै नभएको जनाउँदैं सञ्चालन भएर बन्द भएको भन्ने समाचार झुटो भएको जनाएको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट (मे.सु.) डा. श्रीधर अर्यालले राष्ट्रिय समाचार समिति (रासस)द्धारा सम्प्रेशित ‘भक्तपुर अस्पतालमा खुलेको आइसीयु सेवा बन्द’ भन्ने समाचारको खण्डन गर्दै समाचार अतिरञ्जित र प्रयोजित भएको बताउनुभयो ।
“अस्पतालका कर्मचारी तथा मे.सु.लाई नसोधिकनै अस्पताल प्रशासनको गलत हवाला दिँदैं एनआइसीयु बन्द भएको समाचार संकलन, सम्पादन तथा प्रकाशन भएकोमा खेल व्यक्त गर्दै अतिरञ्चित, प्रयोजित समाचारको खण्डन गर्दछौं,” मे.सु. अर्यालले भन्नुभयो, “सञ्चालन नै नभएको सेवा कसरी बन्द भयो ?”


उहाँले एनआइसीयु सञ्चालनका लागि आवश्यक बेडलगायतका सामग्री तयार भएपनि अक्सिजन प्लाण्ट सञ्चालन नहुँदा हालसम्म एनआइसीयु सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँले तत्कालिन मे. सु. डा. सुमित्रा गौतमले सरुवा भईसेकपछि हतार हतार तत्कालिन अवस्थामा पदमुक्त भइसकेका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाललाई बोलाएर एनआइसीयुको उद्घाटन गरेपनि सञ्चालन हुन नसकेको जानकारी दिनुभयो ।
उहाँले अस्पतालको पुरानो भवन रेट्रोफिटिङमा तुरुन्त जाने अवस्थामा सञ्चालनमा रहेको सेवा समेत अन्यत्र स्थान्तरण गर्नुपर्ने बेलामा हतार हतार एनआइसीयु जस्तो संवेदनशिल स्थानलाई जोखिममा पार्न खोजिएको आरोप समेत लगाउनुभयो ।
उहाँले अस्पताल एनआइसीयु सञ्चालनको तयारीमा रहेको जानकारी दिँदैं आइसीयु रहेको स्थानको एक्सरेलाई स्थानान्तरण गरी सो स्थानमा पाँच शैयाको एनआइसीयु सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।